प्रहरी परिसर टेकु घेर्न गएकालाई पक्राउ गरेकोमा बाबुरामको आपत्ति

हिमाल प्रेस १८ साउन २०८० १७:५६
6
SHARES
प्रहरी परिसर टेकु घेर्न गएकालाई पक्राउ गरेकोमा बाबुरामको आपत्ति फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले तामाङ र मगर जातिको संस्कारका विषयमा वकिल भगवती पाण्डेले विवादास्पद अभिव्यक्ति दिएपछि प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तासहित प्रदर्शनकारीलाई पक्राउ गरी यातना दिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले अदालतले पाण्डेलाई पक्राउ गर्न आदेश दिए पनि प्रहरीले पक्राउ नगरेपछि जिल्ला प्रहरी परिसर टेकु घेराउ गर्न पुगेका पार्टी कार्यकर्ता दिलमाया मोक्तानसहित ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी यातना दिनु लोकतन्त्रको उपहास भएको बताएका छन्।

उनले भनेका छन्, ‘शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो। प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ।’

उनले घाइतेहरूको उचित उपचारको माग गर्दै छानबिन गरी कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन्।

यस्तो छ बाबुरामको विज्ञप्ति 

तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे (शीतल) लाई पक्राउ गर्न अदालतले आदेस जारी गरेपछि पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि पक्राउ गरियोस् भनी माग राख्दै मिति २०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकू, काठमाडौँ घेराउ कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलमाया मोक्तान (नेरुता) लगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो। प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको माग गर्दछौँ। पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइको माग गर्दछौं। साथै, प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग गर्दछौं।

डा बाबुराम भट्टराई
अध्यक्ष, नेपाल समाजवादी पार्टी

प्रकाशित: १८ साउन २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =