वनमाराले ढाकिएको पाखो बन्यो चिया बगान

हिमाल प्रेस १८ साउन २०८० १६:०८
4
SHARES
वनमाराले ढाकिएको पाखो बन्यो चिया बगान

गलकोट- पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ। बागलुङको काठेखोला गाउँपालिका-७ रेशस्थित जनकल्याण माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको हो।

वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि पुग्न थालेका छन्। चिया बगान नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको वडाध्यक्ष प्रेम लामिछानेले बताए। उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउन थालेका छन्। ‘वातावरणमैत्री नमूना कृषि गाउँका रूपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ,’ लामिछानेले भने ‘पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको पोको दिनसमेत थालेको छ।’

पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार स्थानीय सरकारले निर्माण गरिरहेको छ। रेशमा सञ्चालित चार सामुदायिक ‘होमस्टे’ र चिया पर्यटनलाई जोडेर आगामी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिए।

पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका-७ रेश छनोट भएको थियो। सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो। यहाँ चियाखेती गर्दा स्थानीयबासीले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए। -रासस

प्रकाशित: १८ साउन २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =