तनहुँमा छोरीको हत्या गर्ने आमालाई ३ वर्ष कैद

हिमाल प्रेस १८ साउन २०८० १०:३३
14
SHARES
तनहुँमा छोरीको हत्या गर्ने आमालाई ३ वर्ष कैद सांकेतिक तस्बिर।

तनहुँ– छोरीलाई विष खुवाई हत्या गरेको अभियोगमा १ अभियुक्तलाई जिल्ला अदालत तनहुँले ३ वर्ष कैद फैसला सुनाएको छ।

पोखरा महानगरपालिका-२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले ३ वर्ष कैद र ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।

सुष्माले ०७७ साल माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एन्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए।

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्माको भने उपचारपश्चात् निको भएको थियो। सो घटनामा आरोपितका पति मनोज विकले ०७७ माघ २५ गते सुष्माविरुद्ध जाहेरी दिएका थिए।

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए। सुष्मालाई प्रहरीले ०७८ साउन ३० गते पक्राउ गरेको थियो। उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =