लामिछानेलाई पोखरेलको प्रश्‍न- नेपाली महिला पहिलेदेखि नै स्वतन्त्र छन्, नि: शुल्क बस किन?

हिमाल प्रेस १८ साउन २०८० १०:०२
8
SHARES
लामिछानेलाई पोखरेलको प्रश्‍न- नेपाली महिला पहिलेदेखि नै स्वतन्त्र छन्, नि: शुल्क बस किन?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महिलाका लागि नि: शुल्क रूपमा चितवनमा सुरु गरेको बस सेवामाथि प्रश्न उठाएका छन्।

नेपाली समाजमा महिलाहरू धेरै पहिलादेखि नै स्वतन्त्र र अधिकारसम्पन्न रहेकाले अहिलेको अवस्थामा उनीहरूलाई नि: शुल्क बस सेवा आवश्यक नरहेको उनको तर्क छ।

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरूको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यमा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्। यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वभाविक हो।’

नेपाली समाजमा यति बेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता रहेको बताउँदै उनले चितवन महिला जागरण र जागृतिको थलो रहेको पनि उल्लेख गरेका छन्।

पञ्चायतकालमा आफू विद्यार्थी छँदा राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको पोखरेलले स्मरण गरेका छन्।

‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ,’ उनले लेखेका छन्।

नयाँ र वैकल्पिक शक्ति दाबी गर्ने दलहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्नेमा रास्वपाका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको उनको जिकिर छ।

‘चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं,’ पोखरेलले भनेका छन्।

प्रकाशित: १८ साउन २०८० १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =