बिर्तामोडमा तरकारी र फलफूलको विषादी जाँच्‍ने प्रयोगशाला बन्द

हिमाल प्रेस १७ साउन २०८० १३:५६
14
SHARES
बिर्तामोडमा तरकारी र फलफूलको विषादी जाँच्‍ने प्रयोगशाला बन्द

झापा– झापाको बिर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ। उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो।

झापाको सबैभन्दा ठूलो कृषि बजारका रूपमा स्थापित बिर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो।

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका कर्मचारीले आर्थिक अभाव देखाउँदै ४ दिनअघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए।

प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ। विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्री वितरण भइरहेको छ।

यसैबीच, उपभोक्ता जागरण अभियानको टोलीले मंगलबार बिर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई भेटेर ४ दिनदेखि बन्द रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ।

उपभोक्ता जागरण अभियानका सचिव विशाल थापाले प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको बताए।

सो प्रयोगशाला संघीय सरकारको कृषि मन्त्रालय मातहत रहेको र स्थानीय स्तरमा त्यसको सञ्चालनका लागि नगरपालिकाले एउटा मेसिन र २ कर्मचारी खटाएको बिर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए।

उनका अनुसार नगरपालिकालाई कुनै जानकारी नगराई संघीय सरकारका तर्फबाट खटिएका २ कर्मचारीले प्रयोगशालामा ताला लगाएको पाइएको छ।

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने तरकारी तथा फलफूलसमेत बिर्तामोडको कृषि बजारमा ल्याइने गरेको छ। यही बजारबाट खुद्रा व्यवसायीले जिल्लाभर तरकारी तथा फलफूल पुर्‍याउँदै आएका छन्।

प्रकाशित: १७ साउन २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =