झापाका ठूला पालिकामै छैन डम्पिङ साइट, नदी र जंगलमा फाल्छन् अस्पतालको फोहोर

हिमाल प्रेस १० फागुन २०७९ १६:४८
26
SHARES
झापाका ठूला पालिकामै छैन डम्पिङ साइट, नदी र जंगलमा फाल्छन् अस्पतालको फोहोर फाइल तस्बिर।

झापा– व्यापारिक एवम् पर्यटकीय क्षेत्रमा अग्रणी जिल्ला हो झापा। पछिल्लो समय यहाँ स्वास्थ्य, शिक्षा, व्यापार-व्यवसाय प्रयोजनका लागि ठूल्ठूला संरचनाहरू निर्माण र सञ्चालनका क्रममा छन्।

तर दु:ख लाग्दो कुरा- यहाँका राजस्व संकलन र जनसंख्याका हिसाबले ठूला मानिएका पालिकाले नै फोहोर व्यवस्थापन गर्न सकिरहेका छैनन्।

झापाको सबैभन्दा व्यस्त र आवादी सहर भएको कारण बिर्तामोडमा फोहोर मैलाको समस्या विकराल बन्दै गएको छ। बजार र सडक क्षेत्रमा थुप्रिएको फोहोर दुर्गन्धित हुँदा नगरपालिका नै बदनाम हुने गरेको छ।

बिर्तामोडमा फोहोर संकलन गर्ने र बाहिर लैजाने स्रोत साधनको पर्याप्त व्यवस्था हुँदा-हुँदै पनि फोहोरलाई विसर्जन गर्ने ठाउँ नपाएर समस्या भएको नगरपालिकाकी मेयर पवित्रा महतारा बताउँछिन्।

‘हामीसँग गल्ली र चोकहरूबाट फोहोर संकलन गर्ने र यसलाई ओसार्ने स्रोत, साधन र संयन्त्र पर्याप्त छ’, उनले भनिन्, ‘तर, संकलन भएको फोहोर कहाँ लगेर फाल्ने र कसरी विसर्जन गर्ने भन्ने विषयमा समस्या भएको हो।’

हाल निराकार सरसफाइ सेवा प्रालिलाई नगरपालिकाले बिर्तामोड बजार क्षेत्रको फोहोर मैला सरसफाइ गर्ने जिम्मेवारी दिएको छ।

तर, बजारबाट संकलित फोहोरलाई स्थानीय खोला र सडकको किनारमा खाल्डो खनेर पुर्ने मात्र गरिँदै आएको छ।

बिर्तामोड नगरपालिकाले विगतमा विभिन्न स्थानमा डम्पिङ साइटको खोजी गरेर फोहोर मैला विसर्जनको प्रयास गरेको थियो। स्थानीयवासीले फोहोर फाल्न अवरोध गरेका कारण नगरले फोहोरलाई उचित ढंगले विसर्जन गर्न नपाएको मेयर महतराको भनाइ छ।

नगरपालिकाको गाडीले राति-राति फोहोर बोकेर खोला र सडक किनारमा फोहोरलाई पुर्ने कार्य पनि आलोच्य बन्ने गरेको छ। प्लास्टिकजन्य फोहोरको थुप्रोमा आगो लगाएर नष्ट गर्दा वातावरण दूषित हुने गरेको गुनासो आउने गरेको छ।

‘कनकाई नगरपालिकाले वायोग्यास प्लान्ट बनाउने योजनामा हामीले पनि साझेदारी गरेका छौं, त्यो सञ्चालनमा आएपछि बिर्तामोडको फोहोर मैलाको समस्याले उचित समाधान पाउने हाम्रो विश्वास छ,’ उनले भनिन्।

मेचीनगर र भद्रपुरमा पनि छैन डम्पिङसाइट

झापामा बिर्तामोडबाहेक दमक, मेचीनगर र भद्रपुरमा फोहोर मैलाको समस्या अन्यत्रको तुलनामा धेरै छ। दमक नगरपालिकाले आफ्नै लगानीमा वायोग्यास प्लान्ट निर्माण गरिसकेको छ।

मेचीनगर र भद्रपुर नगरपालिका अझै पनि खोलाको बगरमा फोहोर थुपारेर जलाउने गर्छन्। मेचीनगर नगरपालिकाको धुलाबारी क्षेत्रको फोहोर मैला स्थानीय निन्दा नदीको बगरमा थुपारेर जलाउने कार्यले बस्तीमा वायु प्रदूषण फैलिने गरेको जनगुनासो छ।

खोलाको बगर र जंगलबीच फालेर फोहोर मैलाको दीर्घकालीन र उचित समाधान नहुने विषयमा नगरपालिकाका जनप्रतिनिधिहरू सहमत छन्। तथापि, विकल्प केही नहुँदा नगरका फोहोर फ्याँक्ने गाडीहरू खोलाको बगर र जंगलतिरै गइरहेका भेटिन्छन्।

‘खोला र जंगलमा फालेर यो समस्याको दिगो समाधान हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ,’ मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी भन्छन्, ‘फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ र यसको वैज्ञानिक उपायहरू हुन्छन्। तर, यही कुरो स्थानीयले नबुझिदिएका कारण समस्याको दिगो समाधान हुन सकेको छैन।’

मेचीनगर नगरपालिकाले सेनेटरी ल्यान्डफिल्ड साइटका रूपमा प्रयोग गर्न राजमार्ग उत्तरको क्षेत्रमा जग्गा व्यवस्थापन गरेको केही वर्ष बितिसकेको छ।

अनेक प्रयास गर्दासमेत स्थानीय बासिन्दाले परियोजनालाई अघि बढाउन सहमति दिएका छैनन्। गाउँमा फोहोरको दुर्गन्ध फैलिने त्रास स्थानीयवासीलाई छ।

भद्रपुर नगरपालिकाले पनि वर्षौंअघि मेची नदीछेउमा ल्यान्डफिल्ड साइटका लागि जग्गा व्यवस्थापन गरेको थियो।

तर फोहोरलाई वैज्ञानिक ढंगले प्रशोधन गरेर जैविक मल बनाउने कार्य नहुँदा त्यहाँबाट दुर्गन्ध फैलिइरहेको गुनासो आउने गरेको छ।

मेची नदीको बगरमा डोजर लगाएर बनाएको खाल्डोमा फोहोरलाई पुरिँदै आएको छ। ल्यान्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गा चन्द्रगढी विमानस्थलको धावनमार्गबाट नजिक रहेको कारण चिल र गिद्धहरू आएमा हवाई मार्गमा अवरोध पुग्ने सम्भावना पनि औँल्याइने गरेको छ।

आफ्नै ल्यान्डफिल्ड साइटको उचित बन्दोबस्तसमेत गर्न नसकेका भद्रपुर र मेचीनगर नगरपालिकालाई कनकाईको ग्यासप्लान्टमा आबद्ध हुन आग्रह गरिएको छ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले मेचीनगरका जनप्रतिनिधिहरूलाई ग्यासप्लान्टको अवलोकन भ्रमण गराएर सहलगानीमा आउन आग्रह गरेका छन्।

अस्पतालबाट निस्कने फोहोरले समस्या

बिर्तामोडमा ठूला अस्पतालबाट निस्कने फोहोर मैला थप समस्या बनेका छन्।

अस्पतालहरूले प्रयोग भइसकेका सिरिन्ज र अपरेसन थिएटरबाट निस्कने फोहोरलाई एउटै ठाउँमा हाल्ने गर्दा समस्या निम्तिएको हो।

खोला, जंगल र सडक किनारमा सिरिन्जजन्य फोहोर फाल्दा मानवीय क्षति पुग्ने सम्भावना हुन्छ। केही महिनाअघि बिर्तामोडका केही अस्पताललाई कनकाईको बिरिङ खोलामा सिरिन्जजन्य फोहोर राति फाल्ने गरिएको भेटिएपछि जरिबाना तिराइएको थियो।

लगातार बढिरहेको सहरीकरणमा सबैभन्दा चुनौतीको विषय बनिरहेको फोहोर मैला समस्या अब कनकाईको वायोग्यास परियोजना निर्माणपछि समाधान हुने आसामा छन् बिर्तामोडवासी।

कनकाई र अर्जुनधाराजस्ता पर्यटकीय एवम् धार्मिकस्थल रहेको नगरपालिकासमेत यो परियोजनाबाट फोहोर मैलाको समस्या दीर्घकालीन रूपमा समाधान हुने भरोसामा रहेका छन्।

‘फोहोरबाट मोहोर निस्कन्छ भन्ने सुनेको धेरै वर्ष भइसक्यो,’ बिर्तामोड निवासी सामाजिक कार्यकर्ता सुवास भट्टराई भन्छन्। परियोजनाबाट उत्पादन हुने जैविक मल र मिथेन ग्यासको व्यावसायिक प्रयोग पनि चुनौतीपूर्ण छ।

नगरपालिकाहरूले त्यहाँबाट उत्पादित ग्यासलाई पाइपलान र सिलिन्डर दुवै माध्यमबाट उपभोग गर्न सकिने जनाएका छन्।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित ३ नगरपालिकाले सहलगानीमा फोहोर मैला व्यवस्थापन गर्ने निर्माणको अन्तिम चरणमा रहेको परियोजना अबको केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ।

जिल्लाको मध्यभागमा रहेको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन्। ४ वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका-२ को सुकेडाँगीमा रहेको छ।

परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहोर मैलाबाट उत्पन्न समस्याको दिगो समाधान हुने विश्वास गरिएको छ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलका अनुसार ३ वटै नगरको फोहोर मैलालाई ल्याएर जैविक मल र वायोग्यास उत्पादन गर्ने सोचका साथ ०७५ सालमा कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेड स्थापना भयो।

परियोजनाका लागि आवश्यक कूल लगानी १३ करोड ६३ लाखमध्ये ४० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट अनुदान प्राप्त हुने र बाँकी ६० प्रतिशत ३वटै नगरपालिकाले जुटाउने सहमतिअनुरूप हाल काम अन्तिम चरणमा पुगेको उनले बताए।

दैनिक ५० फोहोर प्रशोधन हुने

परियोजनास्थलमा दैनिक ५० टन फोहोर प्रशोधन गर्नसक्ने चार हजार घनमिटर क्षमताको वायोग्यास प्लान्ट जडान भइसकेको छ।

यसबाट हरेक दिन १० टन जैविक मल र एक हजार केजी मिथेन ग्यास उत्पादन हुने गर्दछ। ३ बिघा क्षेत्रफलमा फैलिएको परियोजनास्थलमा ग्यासप्लान्ट, पाइपलाइन विस्तार र प्रशासनिक भवन निर्माण भइसकेको परियोजनाका वायोविज्ञ जीवन श्रेष्ठले बताए।

अहिले केही महत्त्वपूर्ण मेसिनरी जडान र विद्युत् आपूर्तिको लाइन निर्माण धमाधम भइरहेको उनले जानकारी दिए।

ग्यास होल्डर, डिजेस्टर पार्टलगायत परियोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाउँदै उनले भने, ‘कुनै व्यवधान खडा भएन भने अबको एक महिनापछि प्लान्ट सञ्चालनमा ल्याउन सकिन्छ।’

उनले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरबाट निस्कने फोहोर परियोजनाका लागि अपर्याप्त हुने बताए। पूर्ण क्षमताका साथ मेसिन चलाउने हो भने आसपासका अरू पालिकाबाट समेत फोहोर संकलन गरिनुपर्ने र घाँस, गोबरलगायत अन्य प्रकारका कच्चापदार्थको बन्दोबस्त गरिनुपर्ने उनको सुझाव छ।

परियोजनामा सहलगानी गरेका ३ नगरपालिकाबाट दैनिक १५ देखि १८ टन मात्र फोहोर संकलन हुने सम्भावना छ।

फोहोर व्यवस्थापनका लागि लगानी साझेदारीका लागि मेचीनगर, भद्रपुर, बाह्रदशी, शिवसताक्षीलगायतका छिमेकी पालिकाहरूलाई समेत आग्रह गरिएको छ। तर अरू पालिकाहरू अध्ययनकै चरणमा रहेका छन्।

फोहोर वर्गीकरण चुनौती

दमक र कनकाई गरी दुई स्थानमा फोहोर मैलाबाट ग्यास र मल उत्पादन गर्ने परियोजना निर्माण भइसके पनि यसको सञ्चालनमा ‘फोहोरको वर्गीकरण’ चुनौतीपूर्ण बन्ने सम्भावना छ।

कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडका वायोविज्ञ जीवन श्रेष्ठका अनुसार वायोग्यास प्लान्टमा कुहिने फोहोर मात्र हाल्नुपर्ने हुन्छ।

घरको भान्सा, होटल, तरकारी तथा फलफूल पसल आदिबाट निस्कने फोहोरलाई ट्यांकीमा हालेर कुहाइने र मिथेन ग्यास उत्पादन गरिने प्रविधि परियोजनामा जडान गरिएको छ।

वायोविज्ञ श्रेष्ठले नगरपालिकाहरूले परियोजनामा फोहोर पठाउँदा नै वर्गीकरण गरेर पठाउनुपर्ने बताए। ‘स्रोतमै फोहोरको वर्गीकरण गर्न अहिलेदेखि तयारी थाल्न नगरपालिकाहरूलाई अनुरोध गर्दछु,’ उनले भने,’यहाँ ल्याएर सबैखालका फोहोर थुपार्न थालियो भने डम्पिङ साइट बन्ने सम्भावना हुन्छ।’

नगरपालिकाहरूले आफ्नै क्षेत्रमा फोहोरको ३ किसिमको वर्गीकरण गर्नुपर्ने हुन्छ।

कुहिने, नकुहिने र धातुजन्य फोहोर गरी ३ किसिमको वर्गीकरण हुनुपर्ने विज्ञको सुझाव छ। कुहिने फोहोरबाट ग्यास र मल उत्पादन हुन्छ भने नकुहिने प्लास्टिकजन्य फोहोरबाट निर्माण सामग्री (पेभर्स) उत्पादन गरिने श्रेष्ठले बताए।

कनकाईको परियोजनास्थलमा प्लास्टिकजन्य फोहोरबाट पेभर्स उत्पादन गर्नका लागि मेसिनरी जडान भइरहेको छ।

हाल बिर्तामोड नगरपालिकाले घरबाटै फोहोरको वर्गीकरण गर्नका लागि नगरवासीलाई तालिम र सचेतनामूलक कार्यक्रम सुरु गरेको छ। घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएपछि यसलाई सिधै कनकाईको वायोग्यास प्लान्ट रहेको परियोजनामा लैजाने नगरको तयारी छ।

अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आफ्नो नगरबाट संकलन हुने फोहोर मैलालाई वर्गीकरण गरेर कनकाईको वायोग्यास प्लान्टमा प्रशोधनका लागि लगिने तयारी भइरहेको जानकारी दिइन्।

हाल सो नगरमा निजी जग्गा भाडामा लिएर फोहोरलाई विसर्जन गरिँदै आएको उनले बताइन्। -राससको सहयोगमा

प्रकाशित: १० फागुन २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =