इलाम फिक्कलका बिरामीलाई बिर्तामोड जाने बाध्यता हट्यो

हिमाल प्रेस १५ पुष २०७९ १४:५३
4
SHARES
इलाम फिक्कलका बिरामीलाई बिर्तामोड जाने बाध्यता हट्यो सांकेतिक तस्बिर।

इलाम– इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गरेको छ। स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रूपान्तरण भएपछि २४ घण्टै सेवा प्रवाह हुनेछ।

यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ। नगर प्रमुख रणबहादुर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र संगठनात्क संरचनासमेत पारित गरिसकेको बताए।

‘आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ’, उनले भने, ‘भौगोलिक रूपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ।’

उपमेयर दुर्गाकुमार बरालले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दालाई सहज हुने उनको भनाइ छ। हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरी अस्पताल सञ्चालन भइरहेको छ। निर्माण भइरहेको नयाँ भवनलाई समयमै सम्पन्न गराएर चाँडै नै सेवा प्रवाहमा सहज गराउने नगरपालिकाले जनाएको छ।

प्रकाशित: १५ पुष २०७९ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =