एक अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय बनाउँदै प्राधिकरण

हिमाल प्रेस १६ साउन २०८० १५:५४
12
SHARES
एक अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय बनाउँदै प्राधिकरण तस्बिर : रासस

काठमाडाैँ- नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा संग्रहालय बनाउने भएको हो। यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ। ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायत संरचना निर्माण गरिने छन्।

जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्वार गरी संग्रहालयको रूपमा विकास गर्ने योजना छ। परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ। पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब एक सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ।  प्राधिकरणको ३८औँ वार्षिकोत्सवमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो।

मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायत संरचाको अवस्थाका बारेमा अवलोकन गरेका थिए।

मन्त्री बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रूपमा विकास गरिनुपर्ने बताए।

उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए। ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययनस्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीयस्थलको रूपमा विकास गरिनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीयस्थलको रूपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गरे।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायतलाई विद्युत् वितरण गरिएको थियो।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपैयाँ थियो।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो। तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्वाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृह बन्द भएको थियो। केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी बनाइएकाे छ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =