सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : मन्त्री बस्नेत

हिमाल प्रेस १३ साउन २०८० २०:४९
14
SHARES
सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : मन्त्री बस्नेत

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहेका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अंग प्रत्यारोपणसम्बन्धी ‘पुनर्जन्म’ बृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायत सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु गरिएको बहिरंग सेवा निकै प्रभावकारी सावित भएको बताएका हुन्। ‘सीमित स्रोत साधन हुँदा पनि संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्नेमा हामी सजग छौँ।’

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको भन्दै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्‍याउने बताए। उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने उद्देश्यले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शैय्या बढाउन निर्देशन भइसकेको उनको भनाइ थियो।

मानव अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइने उनले बताए। स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले भक्तपुर अंग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयत्न भइरहेको बताइन्।

भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद दुर्लभ थापाले उपचारका लागि छट्‍पटाइरहेका मिर्गाला रोग पीडितलाई डायलाइसिस र मिर्गाैला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले सहयोग गरिरहेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अंगदानका लागि प्रेरित गर्न जनचेता अभियानअघि बढाउने र सकारात्मक सन्देश फैलाउने कार्यमा आफै अग्रसर हुन आवश्यक रहेको बताए।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अंगदानबारे परम्परागत मान्यतालाई रूपान्तरण गर्दै त्यसमा सकारात्मक नतिजा प्राप्त गर्न जनचेतनालाई अभियानकै रूपमा लैजानुपर्ने बताए। अर्का हास्यकलाकार हरिवंश आचार्यले मस्तिष्क मृत्यु भई शरीरका खेर जाने अरु अंग र काम नलाग्ने अंग दान गर्न सके धेरैको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने भएकाले त्यस विषयमा समाजलाई जागरुक तुल्याउन आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =