‘रैतीले साह्रै दुःख पाउँदा’ खुलेको वीर अस्पताल

सन्तोष खडेरी १३ साउन २०८० ११:०४
1.3k
SHARES
‘रैतीले साह्रै दुःख पाउँदा’ खुलेको वीर अस्पताल प्रधानमन्त्री वीरशमशेर र वीर अस्पताल खुलेको सम्बन्धमा लन्डनबाट प्रकाशित हुने दी कोलोनिज एन्ड इन्डिया पत्रिकाको ३० जुलाई १८९० मा प्रकाशित समाचार अंश।

साउन १२ गते मुलुककै जेठो वीर अस्पतालले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। यस वर्ष पनि शुक्रबार अस्पताल स्थापना दिवस भव्यताका साथ मनाइएको छ। यहाँ ऐतिहासिक तथ्यलाई आधार बनाई सोही अस्पताल स्थापनाबारे छोटो चर्चा गरिएको छ।

वीर अस्पतालको स्थापना आजभन्दा १३३ वर्षअघि वि.सं. १९४७ साउन बदी ८ रोज ४ मा भएको थियो। (वीर अस्पताल स्थापना सम्बन्धी दस्तावेज, राष्ट्रिय अभिलेखालय नेपाल)

१९४२ सालमा ठाहिँलाबाबु तत्कालीन प्रधानमन्त्री रणोद्वीप सिंहको हत्या गरेर शमशेर खलकले सत्ता लिएका थिए। शमशेर खलकबाट प्रधानमन्त्री भएका वीरशमशेरको ध्यान काठमाडौँमा शुद्ध खानेपानीको व्यवस्था र अस्पताल स्थापना गर्नेतर्फ गयो।

वीरशमशेर वि.सं. १९२८ मा ब्रिटिस भारतका लागि नेपाल सरकारको प्रतिनिधि वकिलका रूपमा दुई वर्ष कलकत्तामा बसेका थिए। कलकत्तामा रहँदा उनको चिनजान त्यहाँ बंगाली डाक्टर अदरनाथसँग भएको थियो। १९४० सालमा तत्कालीन कमान्डर इन चिफ धीरशमशेर जबरा निकै बिरामी भए। उनको उपचारका लागि वीरशमशेरको सल्लाहबमोजिम कलकत्ता पुगेका खड्गशमशेरका साथ डाक्टर अदरनाथ धीरशमशेरको उपचारका लागि काठमाडौँ आएका थिए।

यसरी नेपाल भित्रिएका उनी कालान्तरमा नेपाल दरबारका चिकित्सकसहित वीरशमशेरदेखि चन्द्रशमशेरका स्वास्थ्य सल्लाहकारका रूपमा नेपालमा रहे। उनै डाक्टर अदरनाथलाई नेपाल सरकारले तराईमा प्रशस्त जग्गाजमिनसमेत बिर्ता दिएको थियो। वीर अस्पताल स्थापनामा एकजना भारतीय बंगाली डाक्टर अदरनाथको समेत महत्त्वपूर्ण योगदान छ।  काशीनाथ दीक्षितका अनुसार नेपाल आउँदा डाक्टर अदरनाथको उमेर २४/२५ वर्ष जतिको थियो। (भएका कुरा, काशीनाथ आचार्य दीक्षित- सम्पादन नरेन्द्रमणि आचार्य दीक्षित, २०३१ काठमाडौँ)

वीरशमशेरले काठमाडौँमा वीर धाराबाट शुद्ध खानेपानी वितरण गरेसँगै उक्त धाराको खानेपानी प्रयोग गर्ने मानिसमा हैजाको संक्रमण हुन छाड्यो। त्यसअघि दूषित खानीपानीका कारण देखिने गरेका झाडापखाला र हैजाजस्ता संक्रमण बन्द भएको समाचार त्यतिबेला ब्रिटिस मेडिकल जर्नलमा समेत छापिएको थियो। (ब्रिटिस मेडिकल जर्नलको ५ अक्टोबर १८९५  अंक)

वीरशमशेरले त्यतिबेला काठमाडौँमा मात्र नभई तराईका जिल्लामा पनि आफ्नै नामबाट थप ४ वटा अस्पताल खोलेका थिए। काठमाडौँको एक र तराईका चारसहित सबै अस्पतालमा उपचार, औषधिसँगै खानबस्न निःशुल्क थियो। सबै खर्च सरकारले व्यहोरेकाले सेवाग्राही जनताको एक पैसा पनि खर्च हुँदैनथ्यो।

शुद्ध खानेपानी र अस्पतालको व्यवस्था गरेर वीरशमशेरले विदेशमा समेत प्रसिद्धि कमाएका थिए। अस्पताल स्थापनालाई नेपालस्थित ब्रिटिस रेजिडेन्ट, ब्रिटिस गभर्मेन्ट र अन्तर्राष्ट्रियजगतले  जनस्वास्थ्यका क्षेत्रमा भएको उल्लेख उपलब्धिका रूपमा चित्रण गरेको थियो। वीर अस्पताल स्थापना गरेर सरकारले कल्याणकारी काम गरेको उनीहरूको  टिप्पणी थियो।

अस्पताल उद्घाटन समारोहबारे त्यतिबेला कलकत्ताबाट प्रकाशित हुने दी इङ्लिस्म्यान ओभरल्यान्ड मेलको २९ जुलाई १८९० को अंकमा समाचार प्रकाशित भएको थियो। समाचारअनुसार उक्त अस्पतालको उद्घाटन सन् १८९० को ९ जुलाई बुधबारका दिनमा भएको हो।

अस्पताल उद्घाटन समारोहका दिनमा अस्पताल क्षेत्र ध्वजापताकाले सजाइएको थियो। अस्पताल प्रांगणको बीच भागमा त्यस प्रयोजनका लागि भनेर एउटा अस्थायी मण्डप तयार गरिएको थियो। त्यहाँ औपचारिक सैन्य पोसाकमा नेपाली सेनाको एउटा टुकुडी ब्यान्डबाजासहित उपस्थित थियो। दिउँसो ठिक १ बजे नेपालस्थित ब्रिटिस रेजिडेन्ट मेजर ईएल डुरान्ड आफ्नी पत्नी श्रीमती डुरान्ड सहित त्यहाँ पुगेका थिए। ब्रिटिस रेजिडेन्टका रेजिडेन्सी सर्जन डाक्टर सोरसमेत त्यहाँ उपस्थित थिए।

नेपालमा वीर धाराको खानेपानी आयोजनाको काम चलिरहेकाले आयोजनाका इन्जिनियर सेन्ट क्लेअर पनि आमन्त्रित थिए। रेजिडेन्ट डुरान्डसहितका ती सबै अंग्रेज अधिकारीलाई श्री ३ महाराज एवं प्रधानमन्त्री वीरशमशेरले स्वागत गरेका थिए। समारोहमा प्रधानमन्त्री वीरशमशेर, कमान्डर इन चिफ देवशमशेर, चारजना कमान्डिङ जनरलहरू, अन्य रोलवाला राणा जनरलहरू, गुरु पुरोहितहरू, भाइभारदार र सर्वसाधरणसमेत सहभागी थिए।

सबैले आआफ्नो आसन लिएपछि सबैभन्दा पहिले नेपाल दरबारका चिकित्सक डाक्टर अदरनाथले अस्पतालको व्यवस्थापन र अस्पतालमा उपचार सम्बन्धमा नेपाली भाषामा नै एउटा सानो रिपोर्ट शैलीको सम्बोधन गरे। (दी इङ्लिस् म्यान ओभरल्यान्ड मेलको २९ जुलाई १८९० अंक)

सम्बोधनको मुख्य अंश-

नेपालमा रैती दुनियाँहरु बेरामी हुँदा औषधि नपाई बेहिफाजत हुनाले नोक्सान समेत भयाको सरकारमा जाहेर हुँदा श्री ३ महाराजबाट आफ्ना दुनियाँको उपर निगाह बक्सी छोटा बडा सबैको रक्षा होस् भन्ना निमित्त यो अस्पताल खडा गरिबक्स्याको हो।  यो अस्पताल बेरामीहरुलाई बस्ने सुविस्ता हुन्या हिसाबसँग राम्रो गरि बन्याको छ। बहुत सिपालु जान्या डाक्टर, असिस्टेन्ट डाक्टर, कम्पाउण्डरहरु पनि देशबाट झिकाई राखिबक्स्याको छ। बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरुको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ बिछ्यौना गैह्र दुरुस्त। केही कुरामा कमी छैन। बेरामीलाई हिफाजत साथ रोजरोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ।(वीर हस्पताल स्थापना सम्बन्धि दस्तावेज, राष्ट्रिय अभिलेखालय नेपाल)

वीर अस्पतालको पुरानो भवन। तस्बिर स्रोत : मदन पुरस्कार पुस्तकालय

डाक्टर अदरनाथको नेपाली भाषणपछि फेरि त्यही भाषण त्यहाँ उपस्थित विदेशीका लागि भनेर अंग्रेजीमा सुनाइएको थियो। त्यसपछि कमान्डर इन चिफ देवशमशेरले भाषण गरेका थिए। देवशमशेरले अघिका प्रधानमन्त्रीहरूले जनताले औषधि र अस्पतालको अभावमा दुःखकष्ट भोगिरहेका छन् भन्ने अनुभव नगरेकाले नै अस्पताल खुल्न नसकेको तर वर्तमान प्रधानमन्त्रीले त्यो अनुभव गरेकाले अस्पताल खुलेको बताएका थिए। उनले काठमाडौँमा मात्र नभई तराईका विभिन्न ठाउँमा समेत निःशुल्क सेवा प्रदान गर्ने गरी थप ४ वटा अस्पताल खुलेको बताएका थिए। प्रधानमन्त्री वीरशमशेरले शासनसत्ता सम्हालेयता विभिन्न सुधारवादी काम अगाडि बढाइरहेको उल्लेख गर्दै उनले जनताको भलाइका निम्ति विभिन्न किसिमका सुधारवादी काम अगाडि बढाउने बताएका थिए।

देवशमशेरपछि प्रधानमन्त्री वीरशमशेरले  छोटो भाषण गरेका थिए। उनको भाषण यस्तो थियो-

काठमाडौँमा यहाँ यो हस्पिटल खोलिएको छ। औषधि नहुँदा रैतीले साह्रै दुःख पाउँदा रहेछन्। त्यसैले अस्पतालको स्थापना गरेको हुँ। रैती दुनियाँको एक पैसा खर्च नभै औषधि गर्न पाउनेछन्।’ (वीर अस्पताल स्थापना सम्बन्धी दस्तावेज, राष्ट्रिय अभिलेखालय नेपाल)

सुरुमा अस्पतालमा १५ बेड थियो। बेडमा भर्ना भएका बिरामीलाई खानेबस्ने व्यवस्था थियो। ओपीडीमा दिनहुँ बेथाअनुसारका बिरामी आई निःशुल्क स्वास्थ्य परीक्षण गराई औषधि लिन्थे। बिरामीको उपचार र स्याहारसुसार राम्रोसँग होस् भनेर अस्पतालको नजिकै  डाक्टर बस्ने घरत बनाइएको थियो। डाक्टरहरु आवश्यक पर्दा जतिबेला पनि बिरामीको सेवामा हाजिर हुने गर्दथे।

वीरशमशेरपछिका राणा प्रधानमन्त्रीहरूको समयमा अस्पतालको स्तरोन्नति हुँदै गयो। करिब १२१ वर्ष अघि नै वीर अस्पतालमा पेटको पत्थरी र आँखाको मोतीविन्दुको शल्यक्रिया हुने गर्दथ्यो। (गोर्खापत्र साप्ताहिक १९५८ पौष सुदि ११)

वीर अस्पताल स्थापना नेपालको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा थियो। पछि चन्द्रशमशेरको पालामा कुष्ठरोग, क्षयरोग अस्पताल स्थापना भए। चन्द्रले भक्तपुरमा चन्द्रलोक अस्पताल र काठमाडौँमा त्रिभुवन-चन्द्र मिलिटरी अस्पताल खोलेका थिए। काठमाडौँबाहिर केही अस्पताल खोलेका थिए। त्यसपछि अरू राणा प्रधानमन्त्रीका पालामा भएका अस्पतालको स्तरोन्नतिसहित नयाँ केही अस्पताल थपिएका थिए।

१२१ वर्षअघि नै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया

प्रकाशित: १३ साउन २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =