१२१ वर्षअघि नै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया

सन्तोष खडेरी १३ भदौ २०७९ १०:१४
2
SHARE
१२१ वर्षअघि नै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया

१९५८ साल वैशाख २४ गते प्रकाशन सुरु भएको गोर्खापत्र साप्ताहिकको करिब नौ महिनापछि प्रकाशित पौष सुदि ११ को अंकमा एउटा समाचार छापिएको छ। गोर्खापत्र सञ्चालनमा ल्याउने सुधारवादी प्रधानमन्त्री देवशमशेरलाई धपाएर चन्द्रशमशेर सत्तामा आइसकेका थिए। उक्त समाचार उपचारसम्बन्धी थियो। समाचार यस्तो थियो-

‘पौष सुदि ६/७ का दिन दरबार अस्पतालमा डाक्टर स्यान्डरले ५/७ वर्षका ब्राह्मणका छोराको ठूलो पत्थरी निकाले। अरू २/४ जनाको आँखाका मोतियाबिन्दु निकाले सो बेलामा अस्पतालमा श्री ३ महाराजको सवारी भएको थियो।’ गोर्खापत्र साप्ताहिक, १९५८ पौष सुदि ११

समाचारमा पत्थरी र मोतीबिन्दु निकालिएको उल्लेख भएकाले त्यतिबेलै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया हुँदो रहेछ भन्ने बुझिन्छ। सरकारका तर्फबाट प्रकाशित गोर्खापत्रमा छापिएको समाचार सत्य नै हुँदो हो। त्यसमा सन्देह गर्नुपरेन। तर आजका दिनबाट हेर्दा के त्यतिबेलै नेपालमा यस्तो सुविधा पनि थियो र? भन्ने जिज्ञासा उत्पन्न हुन्छ।

त्यसैले यसलाई प्रमाणित गर्ने अर्को भरपर्दो स्रोतको खोजी भइरहेको थियो। अब त्यस्तो थप प्रमाण भेटिएको छ।

१९४२ सालमा वीरशमशेर सत्तामा आएपछिको करिब ५/७ वर्षमा उनले सर्वसाधारणका लागि काठमाडौँ उपत्यकामा खानेपानी र ढलको व्यवस्था गरेका थिए। यस्तै अस्पताल स्थापनाजस्ता सुधारवादी कामको थालनी गरेका थिए। आफ्नो कार्यकालमा उनले काठमाडौँमा वीर अस्पतालबाहेक टेकु र त्रिपुरेश्वरमा अस्पताल खोलेका थिए। काठमाडौँबाहिर वीरगन्ज, जलेश्वर, हनुमान नगर, तौलिहवा र नेपालगन्जमा पनि अस्पताल खोलेका थिए।

१९५८ सम्म आउँदा नेपालमा वीर अस्पताल खुलेको झण्डै १२/१३ वर्ष भइसकेको थियो। वीर अस्पताल सञ्चालनमा आउँदा त्यहाँ एकै बिहानमा एक सय जना बिरामीले सेवा लिन सक्ने गरी व्यवस्था गरिएको थियो। सरकारका तर्फबाट खर्च व्यहोरेर अस्पतालमा आममानिसलाई निःशुल्क सेवा प्रदान गर्ने भएकाले होला त्यतिबेलाका भारतीयसहित ब्रिटिस पत्रपत्रिकाले ‘च्यारिटेबल अस्पताल’ भनी उल्लेख गरेका थिए। (सिभिल एन्ड मिलिटरी गजेट लाहोर सन् १८९० जुलाई २९) 

वीर अस्पतालमा महिला र पुरुषका लागि अलगअलग वार्डको व्यवस्था गरिएको थियो। चन्द्रशमशेरको समय  १९५८ (सन् १९०२) सम्म आउँदा नेपालका लागि ब्रिटिस रेजिडेन्टका रूपमा ले. क. चार्ल्स विदर्स रावेन्सअ थिए। चार्ल्सले आफ्नो सरकारलाई पठाएको सन् १९०२ को वार्षिक रिपोर्टमा नेपालमा अस्पतालको अवस्था र त्यहाँ दिइने सेवाका बारेमा स्पष्ट लेखेका छन्। गोर्खापत्रको समाचारसँगसँगै उक्त रिपोर्टले त्यतिबेला नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया हुन्थ्यो भन्ने पुष्टि गर्दछ।

अब अर्को जिज्ञासा उठ्छ- गोर्खापत्रको समाचारमा उल्लेख भएको नेपालको दरबार अस्पताल कुन हो? त्यो कहाँ थियो? त्यस्तै डाक्टर स्यान्डर को हुन्? यसलाई बुझ्न नेपालको अस्पतालको इतिहास, डाक्टरहरूको नियुक्ति र अवस्थाको इतिहास पनि एकपटक नियालौँ।

ब्राह्मणका छोराको पत्थरी र अरू २/४ जना मोतीबिन्दुका लागि भर्ना भएर उपचार गर्ने नेपालमा अर्को कुनै दरबार अस्पताल थिएन। त्यतिबेला काठमाडौँमा अरू कुनै अस्पताल खुलेको देखिँदैन। दरबारभित्रको अस्पताल भनौँ भने पनि सिंहदरबार बनेकै थिएन। चन्द्रशमशेरले आफ्नो कार्यकालमा सन् १९०३ मा भक्तपुरमा चन्द्रलोक अस्पताल स्थापना गरेका थिए।

वीरशमशेरको निधन भएको लालदरबार र राजा पृथ्वीवीरविक्रम बस्ने नारायणहिटी दरबारमा अस्पताल रहेको प्रमाण छैन। तर तर त्यहाँ अस्पताल रहेकै भए पनि  सर्वसाधारणलाई पहुँच थिएन। नेपालमा सत्ता सञ्चालन गर्ने केन्द्रीय निकायलाई अहिले सरकार भनिएजस्तै त्यतिबेला त्यसलाई दरबार भन्ने प्रचलन थियो। दरबारमा खुलेको र दरबारले सञ्चालन गरेको स्कुललाई दरबार स्कुल भन्नुको कारण यही हो। यस्तै दरबार (राणाकालीन सरकार) ले सञ्चालन गरेको वीर अस्पताललाई वीर अस्पताल नभनी दरबार अस्पताल भन्ने प्रचलन रहेको स्पष्ट हुन्छ। त्यसैले वीर अस्पताललाई नै दरबार अस्पताल भनिएको हुनुपर्छ।

अब अर्को जिज्ञासा ती डाक्टर स्यान्डर को थिए त? त्यतिबेला नेपालमा डाक्टर हुने निकाय दुई मात्र थिए- वीर अस्पताल र नेपालस्थित ब्रिटिस रेजिडेन्सी। ब्रिटिस रेजिडेन्सीका डाक्टरले अत्यावश्यक अवस्थामा यदाकदा नेपालीको उपचार गर्दथे।

डा. स्यान्डर ती दुवै निकायमा खटिएका डाक्टर थिएनन्। वीर अस्पतालमा पनि कुनै अंग्रेज डाक्टर नियुक्त भएका थिएनन्। वीरमा त सुरुदेखि नै कलकत्ताका बंगाली हिन्दु डाक्टर नियुक्ति गरिएको थियो। त्यस्तै नेपाल सरकारले आफ्नो सेवाका लागि एकजना डाक्टरको नियुक्ति गरेको हुन्थ्यो। उसलाई आवश्यक परेका बेला बोलाइन्थ्यो। सरकारबाट नियुक्त त्यस्तो डाक्टरलाई नेपाल दरबारको डाक्टर भन्ने गरिन्थ्यो। डा. स्यान्डर त्यसरी नेपाल सरकारले नियुक्त गरेका नेपाल दरबारका डाक्टर थिए। इन्डियन मेडिकल सर्भिसको कर्नेल दर्जाका डाक्टर स्यान्डरको पूरा नाम आरसी स्यान्डर्स हो। उनी सन् १९०२ को सुरूतिर नेपालकी श्री ३ बडामहारानीको उपचारका लागि नेपाल बोलाइएका थिए।

वीरशमशेरले त्यसरी वीर अस्पतालमा कलकत्ताका हिन्दु बंगाली डाक्टर नियुक्त गर्नुका पछाडि उनलाई अस्पताल खोल्ने काममा सुझाव दिने मुख्य व्यक्ति डा. अधरनाथ चटर्जीको प्रभावले हो। अधरनाथ सन् १८७० र ८० को दशकमा कलकत्तामा चर्चा कमाएका डाक्टर थिए। सन् १८७२ ताका वीरशमशेर कलकत्तामा नेपालको वकिल भएर रहँदा अधरनाथसँग परिचय भएको थियो। त्यसैकारण सन् १८८३ मा वीरशमशेरका बुवा तत्कालीन प्रधानसेनापति धीरशमशेरको घाँटीमा कालिजको हड्डी अड्किएर बिरामी हुँदा उनको उपचारका लागि वीरशमशेरले उनै डा. अदरनाथ चटर्जीलाई बोलाएका थिए। (श्री ३ हरूको तथ्य वृत्तान्त भाग-१, पुरुषोत्तमशमशेर जबरा)  

वीरशमशेर प्रधानमन्त्री भएपछि अदरनाथ चटर्जीलाई नेपाल दरबारको डाक्टरका रूपमा नियुक्त गरिएको थियो। चटर्जी नेपाली भाषा जान्दथे। वीर अस्पताल उद्घाटन समारोहमा अस्पतालको बन्दोबस्त बारेको सम्पूर्ण जानकारी उनले नेपाली भाषामा दिएका थिए। (सिभिल एन्ड मिलिटरी गजेट लाहोर सन् १८९० जुलाई २९)

अब नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रियाको गोर्खापत्रको समाचार र नेपालस्थित ब्रिटिस रेजिडेन्ट ले.क. चार्ल्सले पठाएका सन् १९०२ को वार्षिक रिपोर्ट हेरौँ। सन् १९०३ मे अर्थात् १९६० साल वैशाख/जेठमा ब्रिटिस रेजिडेन्सीका डाक्टर कप्तान जेएन ह्युगोले प्रधानमन्त्री चन्द्रशमशेरको अनुमतिमा  वीर अस्पतालको अवलोकन गरेका थिए। उनले अस्पताल अवलोकन गर्दा पुरुष वार्डमा ४५ वटा बेड रहेका र तीमध्ये २२ वटामा सामान्य अवस्थाका बिरामी उपचाररत रहेको उल्लेख गरेका थिए। त्यस्तै त्यहाँ उनले बिफरको महामारी आएमा त्यस्ता बिरामीलाई अरूबाट अलग्गै राखेर उपचार गर्ने गरी आइसोलेसन सेन्टरको बन्दोबस्त नरहेको उल्लेख गरेका थिए।

महिला वार्डतर्फ २० वटा बेडको बन्दोबस्त रहेको र जसमध्ये सात वटा बेडमा सामान्य अवस्थाका सात जना महिला उपचाररत रहेको लेखेका थिए। उक्त अस्पतालमा सानो आकारको पत्थरी र आँखाको मोतीबिन्दुको शल्यक्रिया बर्सेनि रूपमा हुँदै आइरहेको भनी उनले रिपोर्टमा उल्लेख गरेका थिए। (नेपालस्थित ब्रिटिस रेजिडेन्टको सन् १९०२ को वार्षिक रिपोर्ट)

गोर्खापत्रमा १९५८ मा छापिएको आधारमा हामीले आजभन्दा १२१ वर्ष पहिले नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया हुने गरेको तथ्य पाइयो। जसलाई नेपालस्थित ब्रिटिस रेजिडेन्टको सन् १९०२ को वार्षिक रिपोर्टले पनि थप पुष्टि गरेको छ। तर १९५८ भन्दा पहिले पनि त्यस्तो उपचार हुन्थ्यो कि अथवा ठ्याक्कै कहिलेदेखि नेपालमा त्यस्तो उपचार सम्भव भयो भनेर त्यो भन्दा अगाडिको मिति यकिन गर्न कठिन छ। नेपालमा १९५८ भन्दा पहिले कुन मितिदेखि त्यस्तो उपचार सम्भव भयो भन्नेचाहिँ खोजीकै विषय छ।

प्रकाशित: १३ भदौ २०७९ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =