एनआरएनए अस्ट्रेलिया चुनावमा कानुनमन्त्रीको हस्तक्षेप

हिमाल प्रेस १२ साउन २०८० १९:१८
12
SHARES
एनआरएनए अस्ट्रेलिया चुनावमा कानुनमन्त्रीको हस्तक्षेप

सिड्नी- गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको भोलि, शनिबार चुनाव हुँदैछ। सत्तारुढ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङले शुक्रबार डेमोक्रयाट्हरूको भेलालाई जुममार्फत सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार भन्दै डिला खरेलको नाम घोषणा गरेपछि कांग्रेस समर्थक एनआरएनहरू रुष्ट बनेका छन्।

निर्वाचनमा खरेल र अनिल पोखरेल डेमोक्र्याट तथा प्रगतिशील समूहको प्रतिनिधित्व गर्दै देव गुरुङले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन्। डेमोक्र्याटहरू नै दुई समूहमा विभाजित भएर चुनावमा उत्रिएका बेला मन्त्री गुरुङको प्रतिक्रियाले एनआरएनए अभियान नै विवादमा परेको छ।

कांग्रेस समर्थितहरूबाटै दुई प्यानलमा उम्मेदवारी परेपछि विवाद समाधान गर्न नेपाली कांग्रेस जनसम्पर्क समिति, अस्ट्रेलियाको जुम बैठकमा मन्त्री गुरुङले पोखरेललाई उम्मेदवारी फिर्ता लिन दबाब दिएको सहभागीहरूले बताएका छन्।

बैठकका सहभागीहरूका अनुसार मन्त्री गुरुङले ‘पोखरेललाई उम्मेदवारी फिर्ता लिई आधिकारिक उम्मेदवार खरेल र उनको टिमलाई सघाउन’ निर्देशन दिएका थिए। ‘डिला खरेल पार्टीको आधिकारिक उम्मेदवार हो। उहाँलाई जिताउन सबै डेमोक्र्याट एकजुट भएर लाग्नुस्,’ मन्त्री गुरुङलाई उदृत गर्दै एक सहभागीले भने।

सिड्नीमा बसेर पत्रकारिता गर्दै आएका हेमन्तराज काफ्लेले एनआरएनए अभियानमा मन्त्री गुरुङको हस्तक्षेप आपत्तिजनक रहेको बताए। ‘एनआरएनए भनेको देशको विकास र समृद्धिमा सघाउने र विभिन्न देशमा बसेर जीविकोपार्जन गरिरहेका नेपालीको हकहित सम्वर्द्धनमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो,’ कांग्रेस समर्थित पत्रकार काफ्लेले भने, ‘मन्त्री गुरुङको यो हर्कतले विदेशमा पनि नेपालीलाई पार्टी र गुटका नाममा थप विभाजित गर्ने दुष्प्रयासमा मलजल गरेको छ। यो घोर आपत्तिजनक छ।’

खरेलले एनआरएनएमा नेपालका कुनै पनि पार्टीको सम्बन्ध नभएको बताए। उनका अनुसार एनआरएनएले नेपालमा सम्बन्ध राख्ने भनेको परराष्ट्र र कानुन मन्त्रालयसँग हो। उनले भने, ‘कानुनमन्त्री भएको नाताले मन्त्रीले जुम मिटिङमा सामान्य ढंगमा शुभकामना दिनुभएको हो। यसलाई आधिकारिक भन्ने कि नभन्ने भन्ने आआफ्नो बुझाइको कुरा हो।’

अध्यक्ष पदका अर्का डेमोक्र्याट उम्मेदवार पोखरेलले आफू चुनावमा मात्र केन्द्रित रहेको बताउँदै त्यस्ता विवादित विषयमा ध्यान दिन नभ्याएको प्रतिक्रिया दिए। ‘हामी लिबरल मान्छे हौँ। चुनावमा यस किसिमका कुरा आइरहन्छन्। यसलाई धेरै महत्त्व दिएर प्रतिक्रियावादी हुनु जरुरी छैन,’ उनले भने।

प्रकाशित: १२ साउन २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =