ज्ञानेन्द्र शाहीले भने : ललिता निवास जग्गा प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाललाई जेल हाल्नुपर्छ

हिमाल प्रेस १० साउन २०८० १६:२८
28
SHARES
ज्ञानेन्द्र शाहीले भने : ललिता निवास जग्गा प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाललाई जेल हाल्नुपर्छ तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई नै जेलमा हाल्नुपर्ने विषय प्रतिनिधिसभामा उठेको छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते मोही खडा गरी व्यक्तिको नाममा नामसारी गराउने निर्णय गराएको भन्दै तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपाललाई जेल सजाय हुनुपर्ने माग राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राखेका हुन्।

‘११३ रोपनी सरकारी जग्गा चार पटकको मन्त्रिपरिषद्बाट नक्कली मोही खडा गरेर दिएका छन्। मन्त्रिपरिषद्को निर्णय गरेर बालुवाटारको जग्गा बेच्नेहरु अहिले संसद्मा आउँछन्। यस प्रकरणमा टिप्पणी उठाउनेहरुमाथि कारबाही गरेर अहिलेका मन्त्रीहरुले शक्ति प्रदर्शन गरिरहेका छन्,’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएको छ। यदि दम र हिम्मत छ भने काम गर्ने क्षमता छ भने तत्कालीन दुईजना प्रधानमन्त्रीहरुलाई जेल हालेर देखाउनुस्।’

उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र
२०६७ साल साउन २८ गते तीन पटकसम्मको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा बुधबारको संसद् बैठकमा बताए। शाहीले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ साल असोज १८ गते थप नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको बताए।

प्रकाशित: १० साउन २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =