वैदेशिक रोजगारीको असर

भारतबाट १ वर्षमा ५१ करोडको कोदो आयात

हिमाल प्रेस १० साउन २०८० ८:१३
16
SHARES
भारतबाट १ वर्षमा ५१ करोडको कोदो आयात

झापा– मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ।

युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन्। यस्तोमा कोदोमा पनि हामी भारतमाथि नै निर्भर हुनुपर्ने अवस्था आएको हो।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ।

काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको हो।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ।

०७९/८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार मूल्यको ४ हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको उनले जानकारी दिए।

कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ।

गत आवमा १९ करोड ८३ लाखको १२ हजार ३ सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ।

सोही अवधिमा ३१ करोड ९८ लाख बराबरको १९ हजार ९ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७ सय १७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार बराबरको ५ हजार छ सय ५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए।

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजारको २५ हजार ३ सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, २ करोड ७१ लाख ५२ हजारको १ हजार छ सय ९७ मेट्रिक टन घिरौला, ४ करोड ९८ लाखको ३ हजार १ सय १३ मेट्रिक टन लौका, ३ करोड १० लाख बराबरको १ हजार ९ सय ३८ मेट्रिक टन तरुल र ३ करोड ४० लाख ९६ हजारको २ हजार १ सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्यांक छ।

सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजारको १ सय १२ मेट्रिक टन फापर, छ करोड ६६ लाख ६६ हजार बराबरको २ हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाखको पानको पात भारतबाट आयात भएको छ।

कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजारको ४ हजार ३ सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार बराबरको ७ हजार २ सय १ मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ।

३ अर्ब ३५ करोड ९ लाख ८१ हजारको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजारको फलफूल आयात गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाको भनाइ छ।

संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको उनको भनाइ छ।

इलाम नगरपालिका-१२ की तुलसा रायाले करिब १ ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको बताइन्।

प्रकाशित: १० साउन २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =