‘मिसन २०८४’ बारे महामन्त्रीद्वयको फरक मत

हिमाल प्रेस ८ साउन २०८० १७:३०
20
SHARES
‘मिसन २०८४’ बारे महामन्त्रीद्वयको फरक मत

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले अबको ‘मिसन’ २०८४ सालमा हुने आमनिर्वाचनमा पार्टीलाई पहिलो दल बनाउनुपर्ने बताइरहेका बेला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा भने त्यसको विपक्षमा उभिएका छन्।

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै दुवै नेताहरूले चुनाव जित्नेभन्दा पनि देश कस्तो बनाउने भन्ने लक्ष्य लिनुपर्ने बताएका हुन्। महामन्त्री शर्माले चुनावका बारेमा मात्रै चिन्ता गर्ने हो भने देशका विषयमा कहिले सोच्ने भन्ने प्रश्न उठाए। उनले भने, ‘चुनावका बारेमा मात्रै चिन्ता गर्ने हो भने देशको विषयमा कहिले चिन्ता? चुनाव जित्नका लागि मिसन ८४ हैन २०९४ सालमा कस्तो देश बनाउने भनेर मिसन बनाउनुपर्छ।’

महामन्त्री शर्माले कांग्रेस बैठकले मिसन ०८४ को घोषणा नगर्ने पनि बताए। उनले २०८४ सालमा कुनै उल्लेखनीय राजनीतिक परिवर्तन नहुने पनि बताए। उनका अनुसार २०८४ सालमा सात सालमा जस्तो, २०४६ सालमा जस्तो वा माओवादी हिंसाकालमा जस्तो कुनै परिवर्तन हुनेछैन। यस्तै २०६२/६३ को जस्तो कुनै राजनीतिक परिवर्तन पनि नहुने बताए। त्यसैले २०८४ का बारेमा कुनै मिसन आवश्यक नरहेको उनको भनाइ छ।

यस्तै अर्का महामन्त्री गगनकुमार थापाले ०८० मा सरकार, ०८४ मा सरकारमा जाने एजेन्डा बनाएर केही पनि उपलब्धि हासिल हुन नसक्ने बताए। थापाले भने, ‘समुन्नत नेपाल सम्मानित नेपालीको भिजनलाई पूरा गर्नुपर्छ।’  उनले नेपाली कांग्रेस भएन भने संविधान दुर्घटनामा पर्ने र अर्को १५ वर्ष खेर जान सक्ने बताए। उनले भने, ‘०८४ को कुरा छोडौँ। हामी यो चार वर्षको जिम्मा हामीले लिनुपर्छ।’

सुशासनका सन्दर्भमा पार्टीले नयाँ मानक बनाउनुपर्ने जोड उनको छ। यस्तै उनले कांग्रेसले गठबन्धनको नाममा सम्झौता गर्न नहुने बताए।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश नेताहरूले २०८४ मा हुने आमनिर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ८ साउन २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =