रुपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाले समय दिएनन्, कार्यालयमै बुझाउने तयारी

हिमाल प्रेस २ साउन २०८० १२:०८
20
SHARES
रुपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाले समय दिएनन्, कार्यालयमै बुझाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेस रुपान्तरण अभियानले सातै प्रदेश पुगेर तयार पारेको पार्टी संगठनबारेको प्रतिवेदन बुझ्न सभापति शेरबहादुर देउवाले समयनै नदिएको गुनासो आएको छ। सभापति देउवालाई नै बुझाउने भनिए पनि देउवाले उक्त प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि पार्टी केन्द्रीय कार्यालयमै लगेर बुझाउन लागिएको हो।

‘पार्टी रुपान्तरणको लागि देशभरका नेता कार्यकर्ताको सुझाव संकलन गरेर तयार पारिएको प्रतिवेदन बुझाउन सभापति शेरबहादुर देउवालाई बुझाउन समय मागेका थियौँ। उहाँले समय दिनु भएन,’ रुपान्तरण अभियानका नेता गुरुराज घिमिरेले भने, ‘अब पार्टी कार्यालयमै लगेर बुझाउछौँ। आज केन्द्रीय समिति बैठक पनि छ। हाम्रो उद्देश्य भनेको पार्टीबारे नेताहरूप्रति चिन्ता होस्। नेता कार्यकर्ताको गुनासो सम्बोधन होस्। पार्टी बलियो होस् भन्ने हो तर नेतृत्वले गर्दा पार्टी क्षयीकरण भइरहेको छ।’

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ।

रुपान्तरण अभियानले देशभरका कार्यकर्ता भेटेर फर्किएपछि महामन्त्रीहरूसँग पनि छलफल गरेका थिए। तर देउवाले भने समय दिएका छैनन्।

अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सात प्रदेशमा भेला गरेर रुपान्तरण अभियान चलाएको थियो। काठमाडौंमा महिला र तरुणहरुसँग अलग-अलग छलफल गरेको थियो।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नै नबस्ने र पार्टीले कुनै कार्यक्रम नदिने गर्दा नेता कार्यकर्तामा निराशा पैदा भएको भन्दै केन्द्रीय सदस्य मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदिश्वरनरसिंह केसी, धर्मेन्द्र नेम्वाङलगायतले कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरेका छन्।

रुपान्तरण अभियानकै नेता भूपेन्द्रजंग शाहीले रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाउने तयारी रहेको बताए। ‘सभापतिलाई सम्बोधन गरेको प्रतिवेदन छ। पार्टी कार्यालयमै बुझाउछौँ’ उनले भने।

प्रकाशित: २ साउन २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =