जापानबाट फर्केका बागलुङका युवा बाख्रापालनमा रमाउँदै

हिमाल प्रेस ३० असार २०८० १०:०४
22
SHARES
जापानबाट फर्केका बागलुङका युवा बाख्रापालनमा रमाउँदै फाइल तस्बिर।

बागलुङ– गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। ११ वर्षअघि विद्यार्थी ‘भिसा’मा जापान पुगेका रमेश बस्नेत ८ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्।

बस्नेतले  गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्। बाख्रापालनमा आधुनिक प्रविधि प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट गरिएको छ। यसका लागि उनले गल्याङमा झण्डै ३ रोपनी जग्गा लिएका छन्।

बाख्रापालनका लागि विदेशबाट आयातित घाँस खेतीसमेत गर्दै आएको बस्नेतको भनाइ छ।

बागलुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन्। गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ। जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ ३ वर्षदेखि बाख्रापालन सुरु गरेका छन्।

उनको बाख्रापालनमा झण्डै ४० लाख लगानी भइसकेको छ। ‘वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसेँ। विद्यार्थी भिसामा जापान पुगियो। कोभिड कहरको समयमा नेपालमा आएको थिएँ। फर्कन मन लागेन,’ बस्नेतले भने, ‘जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो। बाख्रापालनमा आफ्नो भविष्य देखेँ। अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी छन्।’

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन्। उनले खोर निर्माणमै लाखौँ लगानी  भएको बताए। त्यसमा दुई सय बाख्रा  पालन गर्न मिल्छ।

‘विदेशको दुःखत भोगियो। नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ। अहिले बाख्राका पाठा-पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाई पाल्दै आएको छु,’ बस्नेतले भने, ‘पहिलो वर्ष फर्म स्थापना गरियो। दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो। तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो।’ सरदरमा हाल सम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी फर्म विस्तारमै खर्च गरिएको उनको भनाइ छ।

सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन्। बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ। फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ।

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको  बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ।

बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिए। स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रापालन किसान बस्नेतको भनाइ छ। फर्ममा उन्नतजातको बोयर बिउँ बोका पनि छ।

प्रकाशित: ३० असार २०८० १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =