कृषिका प्राध्यापकले देखेको उन्नत नेपाल [भिडिओसहित]

हिमाल प्रेस १९ चैत २०८० १७:४०
76
SHARES
कृषिका प्राध्यापकले देखेको उन्नत नेपाल [भिडिओसहित] प्राध्यापक डा. गोपी उप्रेती।

काठमाडौँ– प्राध्यापक डा. गोपी उप्रेती कृषि वैज्ञानिक हुन्। भारतबाट कृषिमा बीएस्सी गरेका उनले ३० वर्षसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि र पशुविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गरे। सहायक प्राध्यापक, उपप्राध्यापक, विभागीय प्रमुख, कोअर्डिनेटरजस्ता विभिन्न जिम्मेवारीमा रहेका उनी अन्त्यमा कृषि तथा वनविज्ञान विश्वविद्यालयका संस्थापक भएर सेवानिवृत्त भए।

पढाइमा अब्बल उप्रेतीले दुईदुई पटक अमेरिकी छात्रवृत्ति पाए। उनले सन् १९९२ मा पीएचडी उपाधि लिएका थिए। अनि नेपाल फर्किए। पछिल्लो छात्रवृत्ति स्पेस सेन्टरको फेलोसिपमा पाएका थिए उप्रेतीले। अध्ययन संस्थानलाई विश्वविद्यालयका रूपमा स्थापना गर्न निकै सक्रिय हुनुपरेको उनले सुनाएका छन्।

उप्रेतीले भने, ‘विश्वविद्यालय बन्न भौतिक, शैक्षिक पूर्वाधार सबै तयार भइसकेको थियो। विश्वविद्यालय भनेर घोषणा गर्न मात्रै बाँकी थियो।’ सन् १९७७ देखि २००७ सम्म ३० वर्ष रामपुर अध्ययन संस्थानमा आफूले पढाएको उनले बताए। क्याम्पसमा ३० वर्ष सेवा गरेका उनी देशको राजनीतिक अस्थिरताका कारण अमेरिका भासिए।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए। त्यसपछि उनी विश्वविद्यालयमा गएनन्। अमेरिकाबाटै राजीनामापत्र पठाए। त्यसपछि उनले तथ्यांक वैज्ञानिक भएर झन्डै १२ वर्ष काम गरे। अहिले उनी पूर्ण रूपमा अवकाशप्राप्त जीवन बिताइरहेका छन्। उप्रेतीले काठमाडौँ आएका बेला हिमाल प्रेसको स्टुडियोमा आफ्ना विगत सुनाउँदै नेपालको कृषि क्षेत्र, पूर्वाधार विकास, कूटनीतिक र राजनीतिक विषयमा गहकिला धारणा राखेका छन्।

नेपालमा कृषियोग्य जमिन छुट्याउनुपर्ने बताउँछन् उप्रेती। उनले कृषियोग्य जमिन प्लटिङ गर्न दिन नहुने बताए। अहिले जमिनको खण्डीकरण भएको छ। भूगोलको वातावरण अनुकूल कृषि कार्य हुन सकेको छैन। उप्रेती भन्छन्, ‘भूगोलको वातावरण अनुकूल कृषि कार्य गर्नुपर्छ।’ नेपालमा कृषि कार्य गर्नेहरू घटिरहेका छन्। उप्रेतीले त्यसलाई रोक्न सार्वजनिक कृषियोग्य जग्गा र बाँझो जग्गा छुट्ट्याएर भूमि बैंकको अवधारणा ल्याउनुपर्ने बताए।

वर्षको ३०० मेगावाट बिजुली सहुलियत मूल्यमा किसानलाई दिनुपर्ने पनि उप्रेतीले बताए। ‘जुन कृषकले हिजो सिँचाइका लागि पम्पसेट चलाएका थिए डिजेल र पेट्रोलबाट। उनीहरूलाई सरकारले बिजुली दियो भने तराईको सात लाख हेक्टर (११ लाख) बिघा जमिनमा सिँचाइ पुर्‍याएर वर्षको तीनवटा बाली लिने अवस्था आउँछ।’

त्यसो भएमा नेपालको खाद्य सुरक्षा पूरा गरेर पर्याप्त मात्रामा निर्यात गर्नसक्ने अवस्था रहेको उनको बुझाइ छ। सरकारले किसानलाई समयमै मलखाद र औजार उपलब्ध गराउनुपर्ने उनले बताए। डा. उप्रेतीले भने, ‘यति गर्ने हो भने हामी कृषिमा निकै अगाडि जान सक्छौँ।’ सरकारले सातवटै प्रदेशमा तीन महिनासम्म कृषिउपज राख्न सकिने भण्डार बनाउन ध्यान पुर्‍याउनुपर्ने उनको सुझाव छ। विकसित देशले कृषिकार्यबाटै फड्को मारेको उप्रेतीले बताए। ‘जुन देश कृषिमा आत्मनिर्भर र सुरक्षित हुन्छ त्यो देश धेरै कुरामा सुरक्षित बन्न सक्छ’, उनले भने।

समसामयिक राजनीतिक अवस्थाबारे चासो राख्दै बेलाबखत सामाजिक सञ्जालमा सुझावसहित धारणा राख्ने उप्रेती राजनीतिक अस्थिरता र काण्डैकाण्डले देश अगाडि बढ्न नसकेको बताउँछन्। उनी भन्छन्, ‘कुनै पनि काण्ड निष्कर्षमा पुग्दैन।’

संविधान संशोधन गरेर राष्ट्रियसभालाई पूर्ण रूपमा समानुपातिक सांसद रहनेमा रूपान्तरण गर्नुपर्ने, प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित सांसदको थलो बनाउँदा कुनै एउटा पार्टीले बहुमत ल्याउँछ र सरकार चलाउँछ। बहुमत ल्याउन नसक्ने विपक्षमा बस्छ। त्यसो हुन सकेको अवस्थामा राजनीतिक स्थिरता हुने डा.उप्रेतीको विचार छ। उनी भन्छन्, ‘यसो गर्न सकियो भने नेपालको राजनीतिक अवस्थाको अन्त्य हुन्छ।’

नीतिगत अड्चन समाधान र पूर्वाधार भएको खण्डमा कृषिका लागि विदेशी प्रविधि भित्र्याउन आफूहरूले सहयोग गर्ने उप्रेतीले बताए। उनले भने, ‘हामीले कृषि उत्पादनका लागि विदेशी प्रविधि भित्र्याउन धेरै सहयोग पुर्‍याउन सक्छौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत रामपुर अध्ययन संस्थानमा पढेका हुन्। उप्रेती भन्छन्, ‘उहाँ १९७६ को सुरुआततिर हुनुहुन्थ्यो होला। अहिले हामी उहाँलाई चिन्छौँ त्यतिबेला उहाँलाई चिन्ने कुरा भएन।’

विस्तृत कुराकानी भिडिओमा

 

प्रकाशित: १९ चैत २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =