खेती-किसानी

बाख्रापालन : बा वैदेशिक रोजगारीबाट फिर्ता, छोरा सरकारी सेवामा

रमेश भारती २ फागुन २०८० १२:४१
258
SHARES
बाख्रापालन : बा वैदेशिक रोजगारीबाट फिर्ता, छोरा सरकारी सेवामा

काठमाडौँ- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१० खोलागाउँका यामराज पुनमगर सरकारी जागिरे हुन्। उनी अहिले रामेछाप नगरपालिका पशुपन्छी विकास शाखामा कार्यरत छन्। उनको जागिर त छँदैछ साथै आफ्नो जन्मथलोमा थालनी गरेको पशुपालन र फलफूल खेती फस्टाउँदैछ।

‘लोकसेवाको तयारीमा जुटेको थिएँ। समय निकालेर केही बाख्रापालन पनि गर्दै थिएँ। लोकसेवामा पास भएर रामेछापमा खटिएँ। गाउँमा अभिभावकले बाख्रापालनलाई निरन्तरता दिइरहनुभएको छ’, मगरले भने।

यसअघि मगरले मुसिकोटमा १८ महिना ‘सुवास कृषि फार्म’मा काम गरेका थिए। त्यहीँ काम गरेको अनुभवले आफूलाई खेती किसानीमा लाग्न प्रेरित गरेको उनी बताउँछन्। बाख्रापालनमा संलग्न भइरहेका बेला लोकसेवामा नाम निकालेपछि उनलाई जागिर खाने कि बाख्रापालनलाई निरन्तरता दिने भन्ने दोधार भयो। त्यसमा बाको साथ पाएपछि उनी ढुक्क भएर जागिरको नियुक्ति लिन गए। बाख्रापालन बढ्दै गयो।  उनका बा डिलबहादुर पुनमगर भारतबाट फर्किएर त्यसमै साथ दिइरहेका छन्।

यामराजले भने, ‘बा रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो। मैले बाख्रापालन थालेपछि उहाँ फर्कनुभयो। अहिले आफ्नै बाख्रा पालन स्याहार्न व्यस्त हुनुहुन्छ।’  कहिलेकाहीँ गाउँमा गएर व्यवसायमा सघाउने र अरू बेला निरन्तर बाआमाको सम्पर्कमा रहेर व्यवसाय प्रवर्धनमा लागिपरेको उनी बताउँछन्। ‘अहिले बाख्रासँगै खेतीपाती सबै बाआमाले हेर्नुहुन्छ। म फोनबाट औषधि र बाख्रालाई घाँस-खोले खुवाउने तरिका सिकाइदिन्छु’, यामराजले भने। घरपायकमै जागिर सरुवा गरेर बिहानबेलुका आफू पनि खेती-किसानीमा  संलग्न हुने उनको योजना छ।

डिलबहादुरले भने, ‘छोराले थालेको व्यवसाय अलपत्र हुने देखेर भारतबाट जागिर छाडेर आएँ।’ अहिले घरमै बसेर काम गर्न पाउँदा निकै खुसी लागेको उनले बताए। डिलबहादुरले बारीमा ५० बोट सुन्तला र १५ बो आँप रोपेका छन्। केही वर्षपछि सुन्तला र आँपको पनि व्यावसायिक खेती गर्ने उनको योजना छ। डिलबहादुर भन्छन्, ‘भारतमा मासिक १० हजार भारु तलबमा साहुको काम गर्थेँ।  अहिले त यहीँ अरूलाई पनि काम दिन सक्ने भएको छु।’ बाख्रापालनमा दम्पतीले काम गर्न नभ्याउँदा कहिलेकाहीँ अरूलाई पनि पैसा दिएर काममा लगाउने गरेको डिलबहादुरले बताए।

अहिले गोठमा ४० वटा जति बाख्रा छन्। तीमध्ये २० वटा माउ बाख्रा छन्। १० वटा जति खसी छन्। उनका अनुसार गोठमा १०-१२ वटा पाठापाठी छन्।  मगरको गोठमा भैँसी पालन गरिएको छ। परिवार तरकारी र फलफूलखेतीमा पनि आबद्ध छ। भैँसी र फलफूलखेतीबाट आम्दानी हुन थालेको छैन। बाख्रापालनबाट सबै खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँ जति कमाइ हुने यामराज बताउँछन्। उनी भन्छन्, ‘जमुनापारी, बोयर र रैथाने बाख्रा त्यहीँ फार्ममा काम गरेर कमाएको पैसा पालन सुरु गरेको हुँ।’ तीन लाख रुपैयाँ लगानी गरेर कृषि पेसा सुरु गरेका उनले नौ लाख रुपैयाँ लगानी पुगेको छ। बाख्रापालनबाट आएको कमाइ पनि कृषिमै लगानी गरिरहेको मगरले बताए।

डिलबहादुरका अनुसार बाख्रापालन र कृषिका लागि गाउँमै खेत बन्धकी लिएर घाँस उत्पादन गर्ने गरिएको छ। गाउँघरमा जमिन बाँझो छन्। गाउँमा मान्छे नभएका कारण खेती किसानी गर्न समस्या भइरहेको उनले बताए। उनले भने, ‘कृषिमा पैसा छ तर हामीसँग खेतीपाती गर्ने आधुनिक तरिका छैन। सरकारले किसानलाई आधुनिक खेतीपातीको तालिम नदिँदा परम्परा खेतीमा निर्भर हुनुपरेको छ।’

आधुनिक खेतीको तालिम नपाउँदा किसानलाई उत्पादन पनि बढाउन मुस्किल हुने गरेको उनको अनुभव छ। ‘दुर्गममा कृषि गर्न सजिलो छैन। एकतिर बजार छैन भने अर्कोतिर उत्पादन भएका खसी बिक्रीका लागि बजार पाइँदैन। यो नै ठूलो समस्या हो’, डिलबहादुरले भने, ‘किसानले भोगिरहेको समस्यामा सरकारले ध्यान दिँदैन। स्थानीय सरकारले किसानका समस्या बेवास्ता गर्छ। जसका कारण ग्रामीण भेगमा कृषि उत्पादन घट्दै गएको हो।’

आधुनिक तरिकाले खेती गर्न पाउनु भने यही लगानीमा वार्षिक १० लाख रुपैयाँ कमाउन समस्या नहुने उनको बुझाइ छ। उनले भने, ‘सरकारले कृषि अनुदान दिएको छैन। कृषि अनुदानका लागि पहुँच चाहिँदो रहेछ। त्यही भएर किसान अनुदानबाट वञ्चित हुनुपरेको छ।’

किसानलाई अनुदानभन्दा आधुनिक कृषि औजार र तालिम चाहिने यामराज बताउँछन्। सरकारले कृषिको तालिम दिए अनुदानभन्दा महत्त्वपूर्ण हुने उनले बताए।

एउटा खसी हुर्काउन १७ महिना लाग्छ। त्यसको तौल स्याहार पुग्यो भने ६०-६५ केजीसम्म हुन्छ। त्यो खसी बजारमा ४५ देखि ५० हजारमा बिक्री हुन्छ। डिलबहादुरका अनुसार सीधै बजार पाइँदैन। बिचौलियाको भरमा खसी व्यापार गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। उनका अनुसार बजारमा जिउँदो खसी प्रतिकिलो सात सयभन्दा बढी छ। बिचौलियालाई साढे ५ सय रुपैयाँमा बिक्री गर्नुपरेको बाध्यता उनले सुनाए।

सीधै बजारको व्यवस्था भएमा किसानले खसीको पूरै मोल पाउने उनी बताउँछन्। यामराजले भन, ‘राजनीतिक शक्तिका बिचौलियाले किसानले उत्पादन गरेको वस्तु व्यापार गर्न दिँदैनन्।’

गाउँमा पनि बिचौलियाले किसानलाई प्रत्यक्ष ठगिरहेका छन्। किसानको श्रममा बिचौलिया फाइदा लिने गरेका छन्। यसरी किसान ठगिएको स्थानीय सरकारले अनुगमन र कारबाही गर्न नसकेको उनले जानकारी दिए।  खेतीपातीमा बाँदर, बँदेल, मृग र जंगली जनावरले खेतीपाती नष्ट गर्ने थालेको मगर परिवारको गुनासो छ।

यामराज भन्छन्, ‘सबै साथी देशमा केही गर्न सक्ने अवस्था छैन भनेर वैदेशिक रोजगारीतिर लागे मचाहिँ बाख्रापालनसँगै लोकसेवाको तयारीमा जुटेँ।’  कृषिमा परिवार र सरकारी जागिरमा आफू संलग्न हुँदा स्वदेशमै केही गर्न सकिँदोरहेछ भन्ने लागेको उनी बताउँछन्।

पछिल्लो समय व्यावसायिक रूपमा बाख्रापालन गर्ने बढेका छन्। व्यसायीहरूका अनुसार बजारको चाहिँ समस्या छ। त्यही भएर जति उत्पादन गरे पनि किसानलाई फाइदा नहुने गुनासो उनीहरूको छ। खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्। नेपालमा आयातित जमुनापारी, बोयर, बारबारी, सानन्, बिटल, सिरोही र बोचर जातका बाख्रा व्यावसायिक रूपमा पाल्न थालिएको छ।

प्रकाशित: २ फागुन २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =