कोभिड महामारीको अर्को पाटो : विदेशबाट फर्किएर कृषिमा रमाउँदै पन्थ दम्पती

हिमाल प्रेस २० पुष २०७९ १७:४७
4
SHARES
कोभिड महामारीको अर्को पाटो : विदेशबाट फर्किएर कृषिमा रमाउँदै पन्थ दम्पती फाइल तस्बिर।

गुल्मी– गुल्मीमा एक दम्पतीले ६५ लाख रुपैयाँ लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेका छन्। छत्रकोट गाउँपालिका-३ काउलीका नारायण पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन्। पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका छन्।

पन्थ दम्पतीले ४० माउ बाख्रा पालेका छन्। उनीहरूले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गरेका छन्। नारायणले विदेश गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेका हुन्।

श्रीमानले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट छन्। श्रीमानको १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उनको भनाइ छ।

विश्वभर फैलिएको पहिलो चरणको कोभिड महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन्।

घाँस र सुन्तला खेतीबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुँदै आएको नारायण बताउँछन्।

पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गरेका छन्। ‘घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ,’ उनले भने। यसअघि कतारमा मासिक १ लाख २० हजार रुपैयाँसम्म कमाउने गरेको नारायणको भनाइ छ। त्यो सबै त्यागेर उहाँले गाउँघरमै व्यवसाय सुरु गरेका हुन्।

आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाका लागि कुटानीपिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिएका छन्। उनीहरूसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन्।

फार्मलाई छत्रकोट गाउँपालिकाले रु दुई लाख, कृषि ज्ञान केन्द्रले १ लाख रुपैयाँ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले १ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताए। छत्रकोट गाउँपालिकाका अध्यक्ष राम पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको जानकारी दिए। -राससको सहयोगमा

प्रकाशित: २० पुष २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =