कक्षा ९-१२ मा २५ प्रतिशत आन्तरिक मूल्यांकन [मापदण्डसहित]

हिमाल प्रेस २९ असार २०८० १६:०५
478
SHARES
कक्षा ९-१२ मा २५ प्रतिशत आन्तरिक मूल्यांकन [मापदण्डसहित]

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखि १२ को ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’ सार्वजनिक गरेको छ। केन्द्रले शिक्षालाई उद्देश्यमूलक, व्यावहारिक, समयसामयिक रूपबाट विकास गर्दै सिकाइ सहजीकरणका लागि नयाँ मापदण्ड जारी गरेको हो।

कक्षा ९-१२ मा २५ प्रतिशत आन्तरिक मूल्यांकनका लागि छुट्ट्याइएको छ। यसमा उपस्थिति र कक्षा सहभागिताको ३ अंक, प्रयोगात्मक/परियोजना कार्य र सिर्जनात्मक कार्य र प्रस्तुतिको १६ अंक र त्रैमासिक परीक्षाको ६ अंक निर्धारण गरिएको छ।

यसरी गरिएको मूल्यांकनलाई अभिलेखीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ। ‘२५ प्रतिशत अंकभार आन्तरिक मूल्यांकनका रूपमा समावेश गरिनेछ। आन्तरिक मूल्यांकनलाई अभिलेखीकरण गर्नुपर्छ। प्रत्येक विद्यार्थीको कार्यसञ्चयिकालाई अद्यावधिक गरी व्यवस्थापन गर्नुपर्छ’, मापदण्डमा उल्लेख छ। आन्तरिक मूल्यांकनमा विद्यार्थीको दैनिक उपस्थिति, कक्षाकार्य, व्यक्तिगत तथा समूहकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य जस्ता मूल्यांकनका आधार समेटिएका छन्।

मापदण्डमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन विषयमा आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने उल्लेख छ। मापदण्डको मुख्य प्रयोजन सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका सिकाइ समस्या पहिचान गरेर सिकाइमा सुधार ल्याई निरन्तर पृष्ठपोषण प्राप्त गर्नु रहेको केन्द्रले जनाएको छ।

केन्द्रले विद्यार्थीको सिकाइ समस्या पहिचान गरेर सिकाइमा सुधार ल्याउन मापदण्ड बनाइएको जनाएको छ। माध्यमिक तहमा मूल्यांकनको आधार आन्तरिक मूल्यांकन र परीक्षाको नतिजा भएकाले विद्यार्थीको सिकाइ उपलब्धि स्तरको अन्तिम मापनका लागि मापदण्ड उपयोगी हुने केन्द्रको विश्वास छ।

अभिभावक सम्पर्क, घटनावृत्त अभिलेख, विद्युतीय सञ्चारमाध्यमबाट उपयुक्त सामग्रीको संकलन र प्रस्तुतीकरणजस्ता माध्यम उपयोग गरेर नतिजालाई अभिलेखीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =