मल कारखानाको सम्भाव्यता अध्ययन गर्दै लगानी बोर्ड, डीआईएजी जर्मनीले पायो जिम्मेवारी

हिमाल प्रेस २८ असार २०८० १९:०७
10
SHARES
मल कारखानाको सम्भाव्यता अध्ययन गर्दै लगानी बोर्ड, डीआईएजी जर्मनीले पायो जिम्मेवारी

काठमाडौँ- रासायनिक मल (युरिया)को कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआईएजी इन्डस्ट्रिज जर्मनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार डीआईएजी इन्डस्ट्रिजको प्रस्तावका आधारमा लगानी बोर्डको ५०औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैतमा सम्पन्न बोर्डको ५३औँ बैठकबाट स्वीकृत भएको थियो।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डीआईएजी इन्डस्ट्रिजले अनुमतिपत्र प्राप्त गरेको दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्नुपर्नेछ।

डीआईएजी इन्डस्ट्रिजले वार्षिक सात लाख टन रासायनिक मल उत्पादन गर्ने प्रस्ताव गरेको छ। यो क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७ सय १४ मिलियन (९४ अर्ब २४ करोड रुपैयाँ)को लागत प्रारम्भिक अनुमान गरिएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ।

प्रकाशित: २८ असार २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =