नेताका छोराछोरीलाई पद बाँड्दा जम्बो बन्यो तरुण दल

सन्तोष अधिकारी २४ असार २०८० १३:४९
500
SHARES
नेताका छोराछोरीलाई पद बाँड्दा जम्बो बन्यो तरुण दल

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको कार्यसमिति जम्बो बनेको छ। कांग्रेसकै नेता र कांग्रेसनिकटका सन्तानलाई पद व्यवस्थापन गर्दा तरुण दल जम्बो बनेको हो। तरुण दलको अध्यक्षमा सभापति देउवाले विद्वान गुरुङलाई मनोनीत गरेको १५ महिनापछि तरुण दलले पूर्णता पायो। तर विधान मिचेर कार्यसमिति बढाएर पूर्णता दिइएको हो।

२०७८ चैत ९ गते देउवाले गुरुङलाई तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए। लामो समयसम्म विस्तार हुन नसकेको तरुण दललाई अहिले विधान मिचेर पूर्णता दिने काम गरिएको छ।

तरुण दलको विधानले ९५ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरे पनि नेता व्यवस्थापनका लागि विधान लत्याइएको छ।

नेताका छोरा, नेताका भतिजा, राजदूतका छोरा, नेताका स्वकीय सचिव, नेताका गाडी चालकलाई थपेर चार सय सदस्यको केन्द्रीय समिति बनाइएको छ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम, पूर्वउपसभापति विमलेन्द्र निधिका भतिजा मानवेन्द्र, नेता ईश्वरी न्यौपानेका छोरा सरोज तरुण दलको केन्द्रीय सदस्य मनोनीत भएका छन्।

त्यस्तै भारतका लागि नेपाली राजदूत शंकर शर्माका छोरा सरिन घिमिरे, शहरी विकामन्त्री सीता गुरुङका स्वकीय हेमन्त गुरुङ, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वाध्यक्ष आस्था बिन्दु मल्ल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका पूर्वस्वयकीय सचिव सञ्जय सिलवाल पनि तरुण दलको जम्बो समितिमा केन्द्रीय सदस्य बनेका छन्। पाण्डे राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा सिलवाल स्वकीय थिए। त्यस्तै सांसद लिला बोखिमकी छोरी कोपिला लिम्बू पनि मनोनीत भएकी छन्।

९५ सदस्यीय समिति बन्नुपर्ने तरुण दलमा विधान मिचेर चार सय सदस्य बनाउँदा पनि मनाङ, मुस्ताङबाट एक/एक जना र रुकुम पूर्व जिल्लाबाट दुई जना  सदस्य बनेका छन्। त्यसो त पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट, पश्चिम रुकुमबाट र रसुवाबाट संस्थापन इतर भनिएको शेखर-गगन समूहबाट एक जना पनि परेका छैनन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तदर्थ समिति भएकोले संख्या धेरै भएको बताउँछन्। उनले हिमालप्रेससँग भने, ‘अहिले बनेको तदर्थ समिति हो। महाधिवेशन हुँदा विधानमा जे व्यवस्था भएको छ। सोहीअनुसार बन्छ। नेताका छोराछोरी, नातेदार वा केही पनि पर्‍यो भनेर अर्थ लगाउन भएन। केही केही त्यस्तो परे होलान् तर धेरै साथी तरुण दलसँग नजिक भएर काम गरिरहेका नै हुनुहुन्छ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि नेताका छोराछोरी समावेश हुनु राम्रो नभएको बताउँछन्। ‘नेताकै छोराछोरी भएकै कारणले तरुण दलमा ठाउँ पाउनु राम्रो भएन। केही राम्रो काम गरिरहेकाहरूले नेताकै छोराछोरी नभएकै कारणले अवसर नपाउने भन्ने भएन,’ उनले हिमालप्रेससँग भने, ‘तर, केही निष्क्रिय भएकाहरू पनि समावेश भएको पाइन्छ। यो राम्रो होइन।’

उनले तदर्थ समिति जम्बो भए पनि महाधिवेशनपछि बन्ने समिति विधानअनुसार कै हुने बताए। उनले अब विधान संशोधन हुनेतर्फ पनि संकेत गरे। ‘अहिले तदर्थ समिति भएकोले ठूलो संख्याको बन्यो। महाधिवेशन हुँदा विधानबमाेजिम नै हुन्छ,’ उनले भने, ‘समयमै अधिवेशन नभएपछि पार्टीले त्यसको तयारीको लागि तदर्थ बनाउन सक्ने व्यवस्था छ। अब विधान संशोधन गरेर संख्या बढ्न पनि सक्छ यस्तो भयो भने अहिलेको तदर्थ समितिअनुसारकै सदस्य पनि कायम हुन सक्छ।’

यो जम्बो टोली अहिले शीर्ष नेताकोमा बधाई लिन पुगिरहेको छ।

प्रकाशित: २४ असार २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =