धौलिगंगा बाँध खोलिने : महाकालीको जलस्तर बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस २३ असार २०८० १६:२०
4
SHARES
धौलिगंगा बाँध खोलिने : महाकालीको जलस्तर बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह फाइल तस्बिर।

बैतडी- जिल्ला प्रशासन कार्यालयले महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो। भारतस्थित तपोवन धार्चुलाको धौलिगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन प्रशासनको आग्रह छ।

वर्षाका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन बढिरहेकाले बाँधको ढोका खोलिने धौलिगंगा पावर स्टेसन धार्चुलाबाट जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

धौलिगंगाको पावर हाउसको ढोका खोल्दा महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै पन्थीले महाकाली नदी किनारका बासिन्दामा सतर्कता अपनाउन आग्रह गरे। ‘वर्षाका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ,’ उनले भने, ‘त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ।’

लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको पन्थीको भनाइ छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ।

धौलिगंगा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिन्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ। विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगेका थिए। रासस

प्रकाशित: २३ असार २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =