दार्चुलामा भारतले बनाएको तटबन्धन तत्काल भत्काउन नेमकिपाको माग

हिमाल प्रेस २२ मंसिर २०७९ १६:०७
6
SHARES
दार्चुलामा भारतले बनाएको तटबन्धन तत्काल भत्काउन नेमकिपाको माग फाइल तस्बिर।

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारतले दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर निर्माण भएको तटबन्ध तत्काल भत्काउन माग गरेको छ।

महाकालीमा स्काभेटर चलाएर नदीको धार नेपालतर्फ धकेलेको र तटबन्ध बनाएको भन्दै नेमकिपाले आपत्ति जनाएको छ।

‘अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले महाकाली नदीमा स्काभेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्दै छ। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गर्दैै छ,’ नेमकिपाका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण अझै नरोकेको हुँदा नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको विरोध एवम् भर्त्सना गर्दछ र उक्त तटबन्ध अविलम्ब भत्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’

सन् १९५० को नेपाल–भारत सन्धि, नेपालको हितविपरीतका कोसी र गण्डक सम्झौतालगायत सबै असमान सन्धि, सम्झौता अविलम्ब खारेज गर्नुपर्ने मागसमेत गरिएको छ।

नेमकिपाले नेपालको सार्वभौमसत्ताको रक्षा र नेपाली जनताको सुरक्षामा सचेत हुनुपर्ने भन्दै भारतबाट अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भू-भाग फिर्ता ल्याउन सरकारसँग माग गरेको छ।

प्रकाशित: २२ मंसिर २०७९ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =