हो, सशक्त नारीलाई समाजले रुचाउँदैन

संगीता श्रेष्ठ २३ असार २०८० ९:४५
32
SHARES
हो, सशक्त नारीलाई समाजले रुचाउँदैन जिग्ना वोरा।

‘सशक्त नारी कसैलाई मन पर्दैन!’ बिहाइन्ड बार्स इन बाइकुला : माई डेज इन प्रिजनकी लेखक जिग्ना वोराको भनाइ हो यो। भारतीय पत्रकार तथा लेखक जिग्नाले यो वाक्य सन् २०११ यता दोहोर्‍याउँदै आएकी छन्। अचेल पनि हरेक अन्तर्वार्तामा भन्छिन्, ‘नोबडी लाइक्स अ स्ट्रङ वुमन।’ भारतीय पत्रकारिता, त्यो पनि अपराध बिटमा अब्बल पहिचान बनाएकी यी पत्रकारको भोगाइले समाजमा नारीहरू सशक्त भएर बाँच्न सजिलो नरहेको पुष्टि हुन्छ।

पछिल्लो समय वेब सिरिज ‘स्कुप’ लोकप्रिय हुन थालेपछि अपराध पत्रकार जिग्ना वोराका बारेमा धेरैको चासो बढेको हो। नेटफ्लिक्समा प्रदर्शनमा आएयता हंसल मेहताको वेब सिरिज ‘स्कुप’ले धेरैको ध्यान तान्यो। नेपालमा पनि यसको यसको निकै चर्चा भयो, विशेषगरी पत्रकारहरूमाझ।

वेब सिरिज तिनै भारतीय अपराध पत्रकार जिग्ना वोराको किताब ‘बिहाइन्ड बार्स इन बाइकुला’ बाट प्रेरित छ। त्यसमा पत्रकार, पत्रकारिता, गुण्डा र प्रहरीको कथा रोचक छ। जाग्रुती पाठक कथाकी मुख्य पात्र हुन्। जाग्रुती नै जिग्ना हुन् भने ‘स्कुप’ उनकै कथा हो। वेब सिरिजमा पात्र र पत्रिकाका नाम परिवर्तन गरिएका छन्।

०००

पुरुषसत्तात्मक समाजमा महिलाको सफलतालाई सधैँ शंकाको दृष्टिले हेरिन्छ। महिलाको क्षमतामाथि प्रश्न तेर्स्याइन्छ। उसको शक्ति, सामर्थ्यमा विश्वास गरिँदैन। यो पुरुषसत्ताका पालकहरूको विशेष गुण हो।

पत्रकारिता थालेको सात वर्षमै जिग्नाले हात पारेको सफलता लोभलाग्दो थियो। थुप्रै पुरुष सहकर्मीलाई पछाडि पार्दै उनी आफू कार्यरत ‘एसियन एज’ पत्रिकाको डेपुटी ब्युरो चिफ बनेकी थिइन्। आफ्ना स्रोतबाट समाचार निकाल्न सिपालु भएकै कारण उनी सम्पादकको रोजाइमा परिन्। चाहे चोर होस् वा प्रहरी उनको राम्रो सम्बन्ध थियो समाचार स्रोतका लागि। मुम्बई प्रहरीका तल्लो तहका कर्मचारीदेखि माथिल्ला अधिकारीसम्म उनको सहज पहुँच थियो। यसरी छोटो समयमै उनी व्यावसायिक पत्रकार बनेकी थिइन्।

उनका साथीभाइ र सहकर्मीका अनुसार जिग्ना महत्त्वाकांक्षी थिइन्।  हरेक दिन पत्रिकाको पहिलो पृष्ठमा आफ्नो बाइलाइन हेर्न चाहनु उनको सबैभन्दा ठूलो महत्त्वाकांक्षा थियो। आफ्नो परिवारका लागि एउटा घर किन्ने र छोरालाई राम्रो स्कुलमा पढाउने उनका चाहना थिए। महत्त्वाकांक्षाका चाङ बनाएकी उनी सिंगल मदर हुन्। परिवारको सुन्दर जीवनका लागि संघर्ष गरिरहेकी जिग्नाको महत्त्वाकांक्षी हुनु नै उनको कसुर र सजाय भइदियो। उनको व्यक्तिगत र व्यावसायिक जीवन संकटग्रस्त बन्न धेरै समय लागेन।

०००

सन् २०११ मा ‘मिड डे’ का अपराध पत्रकार ज्योतिर्मय डेको हत्या भयो। उनी ‘जेडे’का नामले चिनिन्थे। उनको हत्याको आरोपमा जिग्ना पक्राउ परिन्। वरिष्ठ पुरुष पत्रकारको मृत्युमा अपराध पत्रकारितामा उनलाई टक्कर दिन सक्ने महिला पत्रकारलाई पक्राउ गरियो। कारण भनियो- ‘प्रोफेसनल राइभल्री’ अर्थात् व्यावसायिक प्रतिस्पर्धा।

वेब सिरिजको परिदृश्य अर्कै छ। त्यतिखेर अन्डरवर्ल्डका डन दाउद इब्राहिम र छोटा राजनबीचको टसललाई मुम्बई प्रहरीले ‘क्यास’ गरिरहेको हुन्छ। एउटै समूहमा काम गरिरहेका दाउद र छोटा राजनको सम्बन्ध सन् १९९३ को मुम्बई हमलापछि बिग्रिएको थियो। कुनै बेला कुम जोडेर हिँड्ने उनीहरूको सम्बन्ध पछि पानी बाराबार भएको थियो।

प्रहरी उनीहरूबीचको यसै मनमुटावमाथि खेलिरहेको थियो। दाउद समूहका गुण्डा मारे छोटा राजनको नाम लिन्थ्यो। छोटा राजन समूहका मान्छेको एन्काउन्टर गरे दाउदको नाम भन्थ्यो। आफ्नो स्वार्थअनुरूप तिनलाई प्रयोग गर्ने र बचाउने काम प्रहरीबाट भइरहेको थियो।

पत्रकार डेले प्रहरीको यस ‘हर्कत’ बारे सुइँको पाइसकेका थिए। उनी आफ्ना स्रोतमार्फत त्यसको पुष्टि गर्न र प्रमाण जुटाउन भिडिरहेका थिए। स्रोतसँग उनको भेटघाट बाक्लिएको थियो। त्यसकै धुनमा रहेका डेको एक दिन अचानक बाटोमा गोली हानेर हत्या हुन्छ। अनि हत्याराको आरोप लगाइन्छ जिग्नालाई।

०००

‘मै किन?’ जिग्नाले १२ वर्षदेखि सोध्दै आएकी प्रश्न हो। ‘पत्याउनुस् यस प्रश्नले मलाई अझै पनि सताइरहेको छ,’ टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा जिग्नाले भनेकी छन्, ‘म पनि त्यसको जबाफ जान्न चाहन्छु। तर पाउन सकेको छैन। समाजसँग अझै जवाफ माग्दै छु।’

उनलाई नजिकबाट चिन्नेहरूलाई पनि यही नै लाग्छ, ‘जिग्नालाई नै किन?’ आफ्नो सत्य किताबमा लेखेपछि उनका पाठक र किताबबाट प्रेरित वेब सिरिज हेरेपछि दर्शकको मनमा पनि यही सवाल घुमिरहेको छ, ‘जिग्ना नै किन?’

‘किनकि पुरुषसत्तात्मक समाजमा महिला सफ्ट टार्गेट हुन्छे,’ वरिष्ठ पत्रकार बर्खा दत्तले एक अन्तर्वार्तामा भनेकी छन्, ‘कुनै पनि काममा आफूलाई प्रमाणित गर्न महिलाले पुरुषभन्दा पाँच गुना बढी काम गर्नुपर्छ अनि उसलाई १० गुना बढी जज गरिन्छ।’

जिग्नाको नियति पनि त्यही भएको थियो। उनी आफ्नो काममा पुरुष सहकर्मीभन्दा बढी खटिन्थिन्। बढी मेहनत गर्थिन्। त्यसबापत पाएको सफलताको श्रेय उनका पुरुष सहकर्मी ‘सम्पादकसँगको निकट सम्बन्ध’ लाई दिन्थे। सम्पादकसँग नजिक भएकाले सफलताको भर्‍याङ उक्लिरहेको भन्दै उनका कुरा काट्थे। ‘पुरुषहरू बुद्धिमान महिलाबाट खतरा महसुस गर्छन्,’ जिग्ना भन्छिन्, ‘उनीहरूले महिलाका अन्य विशेषतालाई प्राथमिकता दिन्छन्। तर बुद्धि र क्षमताबारे वास्ता गर्दैनन्।’

पुरुषसत्तात्मक समाजमा हुर्किएका पुरुष पत्रकारका लागि उनी ‘अड इन द ग्रुप’ थिइन्। स्त्रीद्वेषी समाजले उनको सफलता पचाउन सकेन। त्यसैले जेडे हत्याकाण्डमा उनी प्रहरी र मिडियाको तारो बनिन्।

‘हाई प्रोफाइल केस’ मा चौतर्फी दबाब झेल्न नसकेपछि प्रहरीलाई ‘बलिको बोका’ चाहिएको थियो। अनि त्यसमा परिन् जिग्ना। उनको प्रगति देखेर ईर्ष्या गर्ने पत्रकारले पनि घटनालाई आफ्नो दुनो सोझो गर्ने माध्यम बनाए।

‘प्रहरीमाथि केस सुल्झाउने दबाब थियो। केसबाट सबैको ध्यान हटाउन र मिडियालाई तर्साउन पनि जिग्ना वोरालाई सिकार बनाइएको हो कि?’ एनडी टीभीका पत्रकार सुनील सिंहको प्रश्नको जवाफमा जिग्नाले भनेकी छन्, ‘फरगिभ एन्ड फरगेटमा विश्वास गर्न थालेकी छु। कसैसँग पनि रिसाएकी छैन। प्रहरीले जे गर्‍यो त्यो उसको काम थियो। मिडियासँग चाहिँ केही गुनासा छन्। तर देखाउँदिनँ। भोलि कसैलाई केही भयो भने अझै ममाथि नै आइलाग्ला। ‘यसलाई गुनासो थियो– यसले गरेकी होला’ भन्लान्।’ मिडियाले कसैलाई राम्रो बनाउन सक्छ भने कसैलाई बर्बाद पनि पार्न सक्छ भन्ने कुरा आफूले त्यतिखेर बुझेको उनको भनाइ छ।

०००

‘महिलाको सफलता पुरुषसत्ताको आँखामा जहिल्यै नि बिझ्ने गर्छ’ नारीवादीहरूले भन्ने गरेको कुरा जेडे हत्याकाण्डले प्रमाणित गरिदिएको थियो। सफल अपराध पत्रकारमाथि हत्याको आरोप लगाउन न पुलिसले बेर लगायो न मिडियाले। आरोपितबाट जिग्ना अपराधी बनिन्। सजाय भोगिन्। ‘समाचार पछ्याउँदा पछ्याउँदा म आफैँ समाचार बनेँ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ हामीले स्टोरी (समाचार) ब्रेक गर्छौं, कहिलेकाहीँ स्टोरीले हामीलाई ब्रेक गर्दो रहेछ।’

कैदी नम्बर ११३९ भएर उनले नौ महिना जेलमा बिताइन्। त्यो समय उनका लागि निकै सकसपूर्ण रह्यो। अपमान र बेइज्जती सहनुसम्म सहिन्। ‘सबैभन्दा दु:ख त आफूले नगरेको अपराधका लागि पनि सजाय भोगेकोमा लाग्थ्यो,’ उनी भन्छिन्, ‘दुईतीन महिनासम्म त पत्याउनै सकिनँ। ‘म यहाँ किन छु’ भन्ने कुराले झस्काइराख्थ्यो। किनकि मलाई थाहा थियो, मैले केही गरेकी थिइनँ।’

उतिबेला जेडे र आफूबीच स्वस्थ प्रतिस्पर्धा रहेको उनी बताउँछिन्। तर जिग्नाले छोटा राजनलाई जेडेको घर भएको ठाउँ र बाइक नम्बरको जानकारी दिएको आरोप प्रहरीको थियो। ‘पत्रकार डे र तपाईं दुवै जना छोटा राजनको ‘गुड बुक्स’मा हुनुहुन्थ्यो?’ अन्तर्वार्तामा पत्रकार सुनील सिंहले प्रश्न गरेका छन्। उनले जबाफ दिएकी छन्, ‘छोटा राजनसँग मेरो त्यही सम्बन्ध थियो जस्तो अरू रिपोर्टरहरूसँग थियो। थुप्रै रिपोर्टर छन् जसले उनीसँग मभन्दा बढी कुरा गरेका थिए। मैले त एकपटकमात्र गरेकी थिएँ।’ एकपटक फोनमा छोटा राजनको अन्तर्वार्ता लिएको कुरालाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनी जुन अदालतमा रिपोर्टिङ गर्न जान्थिन्, पछि त्यहीँ आरोपितका रूपमा कठघरामा उभिनुपर्‍यो। जेलमा रहँदा परिवारबाहेक कसैले साथ नदिएको उनी बताउँछिन्। भन्छिन्, ‘एक समय थियो जब म पत्रिकामा आफ्नो नाम देख्न चाहन्थेँ। बाइलाइन हेर्न चाहन्थेँ। तर पछि त्यही कुराले मलाई तर्साउन थाल्यो। कतै मबारे समाचार त छापिएको छैन भनेर पत्रिका हेर्न डराउँथेँ। त्यतिखेर मलाई परिवारले साथ दियो।’

नौ महिनाको कारावासपछि उनी धरौटीमा मुक्त भइन्। आफूलाई निर्दोष साबित गर्न जिग्नालाई सात वर्ष लाग्यो। उनीविरुद्ध ठोस प्रमाण नभेटिएपछि अदालतले उनलाई निर्दोष घोषणा गर्‍यो। उनी हत्या आरोपबाट मुक्त भइन्।

जेलबाट बाहिरिएपछि कामको खोजी नगरेकी होइनन्। तर पाइनन्। ‘सबै मेरो अन्तर्वार्ता लिन चाहन्थे तर जागिर दिन चाहँदैनथे,’ उनी भन्छिन्, ‘अहिले पनि कोही मसँग नजिकिन चाहँदैन। हत्याराको ‘ट्याग’ नछुट्ने रै’छ। मान्छेको दिमागमा अझै पनि मेरा लागि शंका छ। तर म मिडियालाई मिस गर्छु।’

जेजस्तो भए नि मान्छेले आफूलाई पीडितका रूपमा नभई योद्धाका रूपमा सम्झिऊन् भन्ने उनको चाहना छ। मिडियामा काम नगरे पनि उनी अहिले पटकथा लेखनमा सक्रिय छिन्। ‘स्कुप’मा जाग्रुतीका सम्पादकको भूमिकामा रहेका अभिनेता मोहम्मद जिसान अयुबले एक अन्तर्वार्तामा वेब सिरिज हेरिसकेपछि तीन पत्रकार आफूलाई भेट्न आएको बताएका छन्।

‘उनीहरूले स्कुप हेरेपछि हामी कति गलत थियौँ भन्ने बुझ्यो, अबचाहिँ यस्तो हुँदैन भने,’ जिसान भन्छन्।

जिग्ना, जाग्रुती, करिश्मा

जाग्रुतीको भूमिकामा अभिनय गरेकी छन्, करिश्मा तन्नाले। अभिनेत्रीले जाग्रुती बन्न कुनै कसर बाँकी राखेकी छैनन्। जिग्नाको जीवन जिउने पूरा प्रयास गरेकी छन्।करिश्माले सन् २००१ मा ‘क्योंकि सास भी कभी बहू थी’ टेलिसिरियलबाट अभिनयमा प्रवेश गरेकी थिइन्। ‘बिग बोस ८’ र ‘खतरों के खिलाडी १०’ मा सहभागी भएकी थिइन्। ‘झलक दिखला जा’, ‘नच बलिए’ लगायत डान्स रियालिटी सोमा भाग लिएकी उनले सन् २००६ मा ‘दोस्ती : फ्रेन्ड्स फरएभर’ बाट फिल्ममा डेब्यु गरिन्। सन् २०१३ मा उनी फिल्म ‘ग्रान्ड मस्ती’मा देखिइन्। सन् २०१८ मा राजकुमार हिरानीको फिल्म ‘संजु’मा अतिथि भूमिकामा थिइन्। दुई दशकभन्दा बढी समय बलिउडमा बिताएकी उनी बल्ल ‘नोटिस्ड’ भएकी छन्। ‘स्कुप’बाट धेरैले उनलाई ‘सिरियसली’ लिएका छन्।

प्रकाशित: २३ असार २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =