भावुक बन्न खोज्दा चिप्लिरहने प्रचण्ड

किरण पौडेल २२ असार २०८० १७:१३
56
SHARES
भावुक बन्न खोज्दा चिप्लिरहने प्रचण्ड

काठमाडौँ– बोलीकै कारण विवादमा आइरहने नेता हुन्, प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। संवेदनशील विषयमा पनि सतही भाषण गरेपछि बेलाबेला उनी आलोचनाको सिकार हुन्छन्।

बोलीका कारण उनले मुद्दासमेत खेप्नुपरेको छ। भाषण र अन्तर्वार्ताका कारण प्रचण्ड विवादमा तानिने गर्छन्। प्रचण्डले शान्तिप्रक्रियामा आएदेखि विवादित अभिव्यक्ति दिँदै आएका छन्।

पछिल्लो समय आफूलाई प्रधानमन्त्री बनाउन भारतको सहयोग रहेको भन्ने अभिव्यक्तिले उनलाई विवादमा तानेको छ। उनका कुनै अभिव्यक्ति त्यत्तिकै सामसुम हुन्छन् भने कुनै उनी र उनको पार्टीका लागि मात्रै होइन, मुलुकका लागि पनि टाउको दुखाइ बन्छ। प्रचण्डका केही विवादास्पद अभिव्यक्ति :

१. प्रधानमन्त्री बन्न भारतको योगदान

राजधानीमा गत सोमबार ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहको ठूलो योगदान दिएको बताए। आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक नयाँदिल्ली (भारत) पुगेको प्रधानमन्त्रीको भनाइ थियो।

प्रचण्डले भनेका छन्, ‘उहाँ (प्रितम सिंह)ले मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौँका पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो।

सोही अभिव्यक्तिलाई लिएर यति बेला सत्ता पक्ष र प्रतिपक्षबीच दरार उत्पन्न भएको छ। प्रमुख प्रतिपक्षी एमालेलगायतका दलहरू प्रचण्डले राष्ट्रिय स्वाभिमानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने अडानमा छन्।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफू विदेशीको सहायतामा प्रधानमन्त्री बनेको भनेर गैरजिम्मवार अभिव्यक्ति दिएको एमाले नेताहरूको आरोप छ। ‘कार्यकारी प्रमुखले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मवारी हो। यसलाई सामान्य रूपमा लिन सकिँदैन’, एमाले प्रमुख सचेतक पदम गिरी भन्छन्, ‘प्रचण्डले खुलेआम अन्य कुनै देशको सहयोगमा प्रधानमन्त्री बनेको बताएका छन्। एउटा स्वाधीन देशमा यस्तो हुनै सक्दैन।’

सत्तारूढ कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सार्वजनिक रूपमै प्रचण्डको उक्त अभिव्यक्तिको विरोध गरिरहेका छन्। गठबन्धनभित्रका दलहरूले औपचारिक रूपमा विरोध गरेका छैनन्। माओवादी नेता एवम् सञ्चार तथा सूचनामन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले भाषणलाई अनावश्यक मलजल गरेर बंग्याइएको बताएकी छन्।

२. सीमा विवाद समाधान प्रस्ताव

पछिल्लो भारत भ्रमणका क्रममा प्रचण्डले नेपाल भारतबीच सीमा विवाद समाधान गर्ने एउटा विकल्प बंगलादेशसँगको सीधा सडक मार्ग व्यवस्थापन विकल्प अघि सारेपछि आलोचित भएका थिए।

भारतले नेपाललाई बंगलादेशसम्मको सडक पहुँच दिनुपर्ने र ‘बंगलादेश मोडल’बाट नेपाल र भारतसँगको सीमा समस्या समाधान गर्न सकिने प्रचण्डको प्रस्ताव थियो।

यस्तो प्रस्तावलाई भूमि सट्टापट्टा गर्न खोजिएको भन्दै प्रतिपक्षीले संसद्मा कडा विरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड जबाफ दिन बाध्य भएका थिए। बंगलादेश र भारतबीच सन् २०१५ मा आफूलाई पायक पर्ने क्षेत्रमा पर्ने जमिन साटफेर गरेर सीमा समस्या समाधान गर्ने सहमति भएको थियो। त्यसरी नै सीमा समस्या समाधान गर्न सकिने प्रचण्डको प्रस्ताव थियो।

३.जापानमा झुट अभिव्यक्ति

२०७९ साउनमा जापान भ्रमणमा रहेका बेला प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवे बारम्बार नेपाल आएको बताएका थिए। आवेको मृत्युपछि त्यहाँ पुगेका प्रचण्डले आवे नेपाल आउँदा एकदुई पटक कुराकानी भएको अभिव्यक्ति दिए। तर आवे नेपाल नआएको कुरा बाहिरियो। प्रचण्डले तत्काल भाषण गर्दै आफूले त्यसो नभनेको र बंग्याएर प्रसारण गरिएको भनेर पन्छिए।

४. भारतलाई चाहिएको ‘कम्फर्टेबल’ सरकार

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि प्रचण्डले एउटा टेलिभिजन अन्तार्वार्तामा नेपाली कांग्रेस, आफू पक्षीय नेकपा र जनता समाजवादी पार्टी मिलेर सरकार बनाए भारत र चीनका लागि पनि सहज हुने बताएका थिए।

उनले भनेका थिए, ‘म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि पनि ‘कम्फर्टेबल’समीकरण हो। चीनका लागि पनि यो ‘कम्फर्टेबल’नै हुन्छ।’ सोही अभिव्यक्तिलाई लिएर प्रचण्डको आलोचना हुने गरेको छ।

५. पाँच हजार मृतकको जिम्मा

२०७६ मा माघी उत्सवमा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफ्नो अगुवाइमा भएको ‘जनयुद्ध’मा १७ हजार नेपाली मारिएकामा आफूले ५ हजारको जिम्मेवारी लिने बताएका थिए।
उनले भनेका थिए, ‘मैले १७ हजार मानिस मारेर आएको भन्ने तथ्यांक भनिन्छ। यो सत्य होइन। सत्य के हो भने हिजोको राज्यले १२ हजार मारेको हो। तर ५ हजारको जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु। राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।’

सोही वर्षको मंसिरमा काठमाडौँमा आयोजित एउटा कार्यक्रममा उनले सशस्त्र द्वन्द्वका क्रममा भएका ‘सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी लिने’ बताएका थिए।

सोही वर्षको साउनमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने’बताएका थिए। नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधलगायत विषयका मुद्दा हेर्छ।

पाँच हजार मारेको भन्ने विषयमा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले जनयुद्धकालीन हत्यामा प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै दायर गरको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

६. भेनेजुयलाको राजनीतिक गतिविधिमा हतारिएको विज्ञप्ति

नेकपाको सरकार रहँदा भेनेज्वेलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले विज्ञप्ति जारी गरेका थिए। ओली नेतृत्वको सरकार रहँदा नेकपाको अध्यक्षमा भने प्रचण्ड थिए।
‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो।

अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिने काम गरेको आरोप प्रचण्डको थियो। बाह्य राष्ट्रको आन्तरिक विषयमा ‘सन्तुलित रहनुपर्नेमा’ सत्तारुढ पार्टीकै नेताले विज्ञप्ति जारी गर्नु गैरजिम्मेवारपन भएको भन्दै नेकपाभित्र आलोचना भयो। यस विषयले तत्कालीन प्रधानमन्त्री ओली र प्रचण्डबीच नै विवाद देखियो।

७. फर्जी लडाकु संख्या

प्रचण्डलाई विवादमा तानिरहने एउटा भाषण हो, माओवादी शान्तिप्रक्रियामा आएलगत्तै सार्वजनिक एउटा भिडियो। त्यो भिडियोमा उनले भनेका थिए, ‘सुरुमा हामी जनमुक्ति सेनामा कति थियौँ भन्नु त, ७÷८ हजार थियौँ। ३४ हजार लगेर राखिदिएको, २० हजारमा त आयो नि बल्ल।’

आफू ‘चंख’ भएर लडाकुको फर्जी संख्या बढाएको प्रचण्डको भनाइ थियो। लडाकुहरूको गोप्य भेलामा दिएको उक्त भिडियो सार्वजनिक भएपछि प्रचण्डको आलोचना मात्रै भएन, माओवादी युद्धको धङधङीमै रहेकाले त्रास पनि फैलिएको थियो। जनमुक्ति सेनाको वास्तविक संख्या ७÷८ हजार भए पनि आफूले ३४ हजारको प्रमाण देखाउन सक्ने उनको भनाइ थियो।

ढंग नपुग्दा विवादित

खुला राजनीतिमा आएबाटै प्रचण्डका बोलीमा एकरूपता देखिँदैन। सोही कारण विश्वास गर्न नसकिने उनकै सहकर्मीहरू बताउँछन्। प्रचण्डमा भावनात्मक भाषण गर्ने प्रवृत्ति रहेको माओवादी नेताहरूको बुझाइ छ।

‘अनावश्यक भावनात्मक बन्दा कतिपय ठाउँमा चिप्लिनुपरेको हो,’ माओवादी सचिव गणेश साह भन्छन्, ‘कसैसँग निकट भएको देखाउन केही कुरा थप्नुपर्ने हुन्छ। तर अर्को अर्थ लाग्न सक्छ। यसमा अध्यक्षज्यूको ढंग पुग्दैन।’

तीन दशकभन्दा बढी समयदेखि माओवादीभित्र एकछत्र नेतृत्वमा रहेका प्रचण्ड राजनीतिक समीकरण फेर्न सधैँ अग्रभागमा रहन्छन्। सबैसँग मिलेको स्वाभाव देखाउन पनि भावनात्मक बन्ने गरेको सचिव साहले बताए। प्रचण्डको यस्तै प्रवृत्तिका कारण शान्तिप्रक्रियामा आएपछि सत्ता वरिपरि हुन्। भाषण गर्दा तत्काल लोकप्रिय हुन खोज्ने तर दुरगामी असर कस्तो पर्छ भन्ने बुझाइ प्रचण्डमा नरहेको जानकारहरू बताउँछन्।

पटकपटक गल्ती गर्दा पनि चेत नआउने नेताका रूपमा चित्रित गर्ने पनि धेरै छन्। ‘प्रचण्ड कसैलाई निकट देखाउन भावनात्मक बनिदिन्छन्। त्यसको असर दीर्घकालीन पर्छ। एक पटक विवादित बनेपछि चेत पनि आएको पाइँदैन’, राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्।

जिम्मेवार को?

प्रधानमन्त्रीको सचिवालयमा प्रचारप्रसारका लागि ठूलै टोली परिचालित छ। जहाँ प्रेसविज्ञ, सञ्चारविज्ञ, प्रेस संयोजकसहित छन्। गम्भीर विषयमा भाषण गर्दा प्रधानमन्त्रीलाई सुझाव दिने सोही टोलीले हो।

कमजोर सचिवालयका कारण पनि भाषणमा अनेक अर्थ लाग्ने गरेको माओवादी सचिव गणेश साह बताउँछन्। ‘कमजोर सचिवालय र तयारी नपुगेको भाषण हुँदा यस्तो समस्या आएको देखिन्छ,’ साह भन्छन्, ‘हुन त हाम्रो पोलिटिक्सको स्तर पनि यही हो। हामी भाषणलाई ठूलो कुरा मान्दैनौँ।’

प्रधानमन्त्रीको सचिवालयले भने आफ्नो र प्रधानमन्त्रीको गल्ती नभएको बताएको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा विषयवस्तुलाई बंग्याएर प्रसार गरिएको भन्दै प्रधानमन्त्रीको बचाउ गरिएको छ।

पछिल्लो अभिव्यक्तिमा भने सचिवालयभन्दा पनि प्रधानमन्त्रीकै कमजोरी देखिएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार विष्णु रिजाल बताउँछन्। ‘यसमा सचिवालयको दोषजस्तो देखिँदैन। लिखित भाषणमा मात्र सचिवालयको परामर्श हुने गर्छ,’ रिजाल थप्छन्, ‘मौखिकरूपमा बोलेको विषयमा सचिवालयको भूमिका हुँदैन।’

रिजाल ठूला नेताले भाषणमा ध्यान नदिँदा समस्या आउने गरेको सुनाउँछन्। ‘कतिपय विषयमा नेताहरूले भाषणमा ध्यान दिँदैनन्। भाषणपछि पनि सुधार गरौँ भन्दा चासो राख्दैनन्’, उनले भने।

माओवादीकै अर्का नेता माधव सापकोटा ‘सुबोध’ भने पुराना विषयलाई उचाल्दा सकस भएको सुनाउँछन्। ‘त्यो विषयमा नबोल्दा पनि राम्रै हुन्थ्यो,’ प्रितम सिंहका विषयमा सापकोटा भन्छन्, ‘बोलेरै पनि बिग्रिएको केही छैन। हंगामा मात्र मच्चाइयो।’ राजनीतिक विश्लेषक पोखरेल भने जिम्मेवार पदमा बसेका व्यक्तिले विवादस्पद अभिव्यक्ति दिनै नमिल्ने बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो विषयलाई विपक्षीले पनि ठूलो बनाएजस्तो देखिन्छ।’

प्रकाशित: २२ असार २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =