गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

हिमाल प्रेस २१ असार २०८० २१:१६
18
SHARES
गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ सांकेतिक तस्बिर।

बुटवल- भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ। चोरी, लुटपाट, हत्यालगायत आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन्। तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन्। भारत गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका-३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख रूपैयाँ बराबरको चोरी गरेको घटनामा संलग्न रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।

यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका-३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र तीन लाख ८० हजार रूपैयाँ चोरी गरेको, जेठ ३ गते सिद्धार्थनगर नगरपालिका-८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका-९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइललगायत नगद एक लाख १५ हजार लुटेको प्रहरीको दाबी छ। प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका-३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले तिवारीबाट कटुवा पेस्तोलजस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउण्ड, दुईवटा खुकुरी, एक चक्कु, सलाई रिन्च तीनवटा, छिनो एक, एक मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर एक, ग्यासकटर, ७ हजार ६६५ नेपाली रुपैयाँ र ५ हजार ४४५ भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। यस्तै हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ। तिवारीका समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उनले जानकारी दिए। रासस

प्रकाशित: २१ असार २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =