ललितपुर महानगर र गुल्मीको मालिका गापाबीच भगिनी सम्बन्ध

हिमाल प्रेस २० असार २०८० १८:२३
12
SHARES
ललितपुर महानगर र गुल्मीको मालिका गापाबीच भगिनी सम्बन्ध

ललितपुर– ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ। भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा महर्जनले भने, ‘भगिनी सम्बन्ध गाँस्नु भनेको दुःखसुख आदानप्रदान गर्नु हो। हामी मित हौँ, दुःखसुख साट्छौँ, सहयोग आदानप्रदान गर्छौँ।’

उनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। ललितपुरले तत्कालका लागि मालिका गाउँपालिकामा ‘ललितपुरको झल्को दिने एउटा फल्चा बनाइदिने भएको छ।

कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भागिनी सम्बन्धले दुई पालिकाबीच सुमधुर सम्बन्ध कायम भई विकास निर्माणका अभ्यासबारे सहयोग आदानप्रदान हुने बताइन्। उनले भनिन्, ‘भगिनी सम्बन्ध गाँस्नु ठूलो कुरा होइन, सम्बन्धको प्रगाढता हुनु महत्त्वपूर्ण हो।’ सम्बन्धलाई थप प्रगाढ बनाउन सीप, संस्कार र उत्पादन आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरसँग दुरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए। यस्तो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने पनि उनको विश्वास छ। उनले भने, ‘ललितपुर महानगर हाम्रा लागि खुला विश्वविद्यालय हुनेछ। हामी असल अभ्यास सिक्नेछौँ।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अप्ठ्यारोमा परेका अन्य पालिकालाई पनि महानगरले सहयोग गर्दै आएको जानकारी दिए। पूर्वसचिव भीम उपाध्यायले कला र संस्कृतिको सहरले विकट जिल्ला गुल्मीको मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध गाँस्नु महत्त्वपूर्ण भएको बताए।

प्रकाशित: २० असार २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =