२०८४ को दृश्य असाध्यै राम्रो देख्छु : लामिछाने

हिमाल प्रेस १९ असार २०८० १३:१३
4
SHARES
२०८४ को दृश्य असाध्यै राम्रो देख्छु : लामिछाने फाइल तस्बिर- हिमाल प्रेस

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको दृश्य असाध्यै राम्रो देखिएको बताएका छन्। लामिछानेले मंगलबार धनगढीमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै २०८४ सालमा हुने संसदीय चुनाव परिणाम आफ्नो दलका पक्षमा आउने दाबी गरेका हुन्।

लामिछानेले भने, ‘हामी ८४ को लक्ष्यमा छौँ। नेपाली जनताका मुद्दामा दह्रो भएर उभियौँ भने नेपाली जनताले हामीलाई माया गर्नु हुनेछ। ८४ को दृश्य असाध्यै राम्रो देखेका छौँ।’

उनले अहिले पार्टी सरकार बनाउने र ढाल्ने खेलमा रहरमा नरहेको बताए। उनले भने, ‘हामी त्यस्ता कुनै पनि क्रियाकलापमा कहीँ पनि सहभागी छैनौँ। हामीलाई त्यसमा रुचि नै छैन।’ सभापति लामिछानेले आफूहरू पार्टीको संगठन विस्तारमा व्यस्त रहेको बताए। यसै क्रममा आफू सुदूरपश्चिम आएको पनि उनले बताए।

लामिछानेले अर्को प्रसंगमा जनता र व्यवसायीका समस्याप्रति उत्तरदायी नहुने छुट सरकारलाई नरहेको बताए। सरकारले ल्याएको बजेटले साना र ठूला कुनै व्यवसायी खुसी नभएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

लामिछानेले भने, ‘सरकारले आर्थिक जगत्मा भएका समस्यालाई सम्बोधन गर्न केही न केही कदम चाल्नैपर्छ। यसका लागि गम्भीर समीक्षा गरेर कार्यक्रम ल्याउनुपर्ने भनाइ उनको छ। उनले भने, ‘हामी केही समय हेर्छौँ। सरकारले निरन्तर यही कर्मकाण्डी कुरा लागू गरिरहन्छ कि के गर्छ?’

लघुवित्त र सहकारीका पीडितहरूका समस्यालाई सरकारले सम्बोधन गर्न नसकेको आरोप उनले लगाए। उद्यमी व्यवसायीका लागि राहत हुने खालका योजना पनि नल्याइएको उनको भनाइ छ।

उनले भने, ‘सरकारले घोषणा नगरे पनि अहिले मुलुक आर्थिक मन्दीको अवस्थामा रहेको कुरा सबै सूचकहरूले बताइसकेका छन्। सबै कुराहरूलाई वास्ता नगरेर सरकारले किन पुरानै ढाँचामा बजेट ल्यायो?’ यस्तै उनले सरकार राजस्वको अनुमानमा पुग्ने अवस्थामा पनि नरहेको बताए।

प्रकाशित: १९ असार २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =