पहिरोले सवारीसाधन बाटोमै रोकिँदा ठाउँठाउँमा यात्रु अलपत्र

हिमाल प्रेस १९ असार २०८० १०:२५
2
SHARE
पहिरोले सवारीसाधन बाटोमै रोकिँदा ठाउँठाउँमा यात्रु अलपत्र

काठमाडौँ- वर्षासँगै आएको बाढी र पहिराका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। पहिरोले बाटो अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका बस र यात्रु बीचमै अलपत्र परेका छन्।

महाकाली लोकमार्गअन्तर्गत शैल्यशिखर नगरपालिका-६ पनेबाज क्षेत्रमा पहिरो खस्दा गोकुलेश्वर-खलंगा सडक क्षेत्र बन्द भएको छ। खलंगाबाट महेन्द्रनगर-काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्। महेन्द्रनगर, धनगढीबाट खलंगका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्।

पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए। यसैगरी वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो।

वर्षासँगै दब्ल्याङमा पहिरो खसेको छ। तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्।

उता पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए।

उनका अनुसार दलदले-कुसोत-पोखरी खण्डअन्तर्गत कुमसोत-पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा टुटेको छ। जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुन सकेका छैनन्।

पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा सोमबार रातिदेखि सडक अवरुद्ध बनेको हो।

भारी वर्षाका कारण भिरबाट ठूला-ठूला ढुंगासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरुद्ध सडक खुलाउन जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्युरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँ पुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्।

प्रकाशित: १९ असार २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =