तिनाउको बाढीले बस्ती जोखिममा, सचेत रहन अपिल

विनोद परियार १९ असार २०८० ८:२८
20
SHARES
तिनाउको बाढीले बस्ती जोखिममा, सचेत रहन अपिल

लुम्बिनी- रातभरि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा बाढीले खतराको तह पार गरेको छ। रूपन्देही, पाल्पासहित आसपासको क्षेत्रमा रातिदेखि निरन्तर वर्षा भएपछि तिनाउ नदी वरपर रहेका बस्ती बाढीको उच्च जोखिममा परेका हुन्। तिनाउ नदीमा पानीको सतह बढेको र नदी तटीय क्षेत्रका बस्ती बाढीको जोखिममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेका छन्। मंगलबार बिहान ३ः३० बजे तिनाउले खतराको तह पार गरेको हो।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ। महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ।

बुटवल उपमहानगरले समेत तिनाउ नदीमा पानीको सतहले खतराको घन्टी बजाएको भन्दै सतर्क रहन नगरबासीलाई सूचना निकालेको छ। तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू बिहान ९ बजेसम्म सुरक्षित स्थानमा ररहन उपमहानगरले सूचना मार्फत आग्रह गरेको छ।

दाउरा, माछा समात्ने, भिडियो बनाउने जस्ता उद्देश्यले नदी किनारमा नजान र बालबालिकालाई सुरक्षित स्थानमा राख्न उपमहानगरपालिको अनुरोध छ। तिनाउ नदीले खतराको तर पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०८० ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =