झापामा हात्तीकाे आक्रमणबाट ज्यान गुमाउने बर्सेनि बढ्दो

हिमाल प्रेस १८ असार २०८० २०:०८
6
SHARES
झापामा हात्तीकाे आक्रमणबाट ज्यान गुमाउने बर्सेनि बढ्दो हात्तीले भत्काएको घर। फाइल तस्बिर।

काठमाडौँ- झापामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बर्सेनी बढिरहेको छ। जंगलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमै पसेर हात्तीले आक्रमण गर्ने गरेको छ।

झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र भारतीय भूभागबाट बाहुनडाँगी हुँदै दैनिक नेपाल प्रवेश गर्ने जंगली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।

उनले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको संख्या वर्ष बढेको पनि बताए। चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म आठ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन्। यही समयमा सात जना घाइते भएका छन्। गत वर्ष सोही अवधिमा ६ जनाले ज्यान गुमाएको कार्यालयको तथ्यांक छ।

आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उनको भनाइ छ। केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो। आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ। ‘हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ,’ प्रमुख राई भने, ‘हात्ती अब अटेर भइसके। सहर पसेर मान्छे मार्न थाल्यो।’

सोमबार बिहानमात्रै हात्तीको आक्रमणाट धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको ज्यान गएको छ। वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै हात्तीको आक्रमणमा परेर धिमाल घाइते भएकी हुन्। उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन्। जिल्लामा बर्सेनी हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौँको अन्नबालीसमेत नष्ट हुँदै आएका बेला पालिकाले बजेटमा हात्ती नियन्त्रणसम्बन्धी केही उल्लेख गरेको छैन।

मेचीनगर नगरपालिकाको बाहुनडाँगी भारतबाट हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौँडो मानिन्छ। सो क्षेत्रमा लगाएको विद्युतीय घेराबारसमेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन्।

पालिकाले नीति तथा कार्यक्रममा जंगली हात्तीको प्रकोपको क्षति नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मतसम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न संघ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ।

पालिकाले हात्तीलगायत जंगली जनावरलाई खेदाउन साइरन खरिदका लागि तीन लाख रुपैयाँ र हात्ती प्रकोप तथा विपद् व्यवस्थापनमा तीन लाख रुपैयाँ विनियोजन गरेको छ।

नगरको वडा नम्बर ४ ले हात्तीमैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि ५० हजार रुपैयाँ र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई १२ हजार रुपैयाँका दरले रकम दिइने बजेटमा उल्लेख गरेको छ।

वडा नम्बर ३ ले हात्ती धपाउन फगी लाइट खरिदका लागि ५० हजार रुपैयाँ बजेट छुट्याएको छ। १५ वडा रहेको पालिकाका अन्य वडाले भने हात्ती नियन्त्रणका लागि छुट्याएका छैनन्। रासस

प्रकाशित: १८ असार २०८० २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =