कांग्रेसका उद्धव थापालाई कोशीको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

हिमाल प्रेस १८ असार २०८० १८:३४
32
SHARES
कांग्रेसका उद्धव थापालाई कोशीको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौँ– सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई उम्मेदवार बनाउने निर्णष गरेको छ। आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा अघि बढाउने निर्णय गरेको हो।

गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका थिए। तर गठबन्धनका शीर्ष नेता बसेको बैठकले थापालाई अघि सारेको हो। थापालाई गठबन्धनको ठूलो पार्टीको संसदीय दलको नेताको हिसाबले उम्मेदवार बनाइएको हो।

‘मुख्यमन्त्रीको उम्मेदवार बनाएर कांग्रेसका दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय भएको छ,’ छलफलमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले हिमालप्रेससँग भने, ‘अब मुख्यमन्त्री टुंगिएपछि अन्य मन्त्रालयको विषयमा पछि छलफल हुन्छ।’

उनले यसअघि तटस्थ बसेको जनता समाजवादी पार्टीले पनि गठबन्धनमै रहेकोले सोहीअनुसार निर्णय हुने पनि बताए।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो। उता एमालेले भने सर्वदलीय सरकार गठनको माग गर्दै आइरहेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ असार २१ गते साँझ ५ बजेसम्मको समय तोकेर नयाँ सरकार गठनको आह्वान गरेका छन्। उक्त समयभित्र दलहरू दाबी पेस गर्नका लागि सहमति कसरत गरिरहेका छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको खाँचो पर्छ। एमालेका संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी(जसपा) का १ जना सांसद छन्। अहिले आह्वान भएअनुसार सरकार गठन नभए संयुक्त सरकारको आह्वान हुनेछ। सहमतिको सरकार पनि गठन नभए प्रदेशसभा विघटन हुनेछ र मध्यावधि चुनावमा जानुपर्नेछ।

बैठकमा राप्रपालाई पनि गठबन्धनमै समावेश गरेर लैजानेबारे छलफल भएको थियो।

प्रकाशित: १८ असार २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =