म्याग्दीको सामुदायिक वनमा जडीबुटी खेती

हिमाल प्रेस १८ असार २०८० ८:५८
6
SHARES
म्याग्दीको सामुदायिक वनमा जडीबुटी खेती फाइल तस्बिर।

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरु गरेका छन्।

पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन्।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा १ लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको समूह अध्यक्ष तुलसी छन्त्यालले बताए।

समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन्। जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय ५ मिटर लामो पर्खाल निर्माण भएको छ।

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नर क्षेत्रीले चालु आर्थिक वर्ष ०७९/८० मा जडीबुटी खेतीका लागि ४ लाख ८० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए।

‘उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्,’ उनले भने ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो।’ यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो।

बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए।

‘यसअघि गरिएको खेती सफल भयो। यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ,’ उनले भने, ‘बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ।’

०७७ सालमा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए। ०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए। बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ।

समुद्री सतहदेखि ३ हजार २ सयदेखि ३ हजार ७ सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्त्वपूर्ण उपचार पद्धतिको रूपमा अतिस प्रयोग हुन्छ।

प्रकाशित: १८ असार २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =