मुस्ताङमा ‘राजाको छोरा’को बिहेमा गाउँपालिकाले दियो बिदा

हिमाल प्रेस १७ असार २०८० १७:५६
206
SHARES
मुस्ताङमा ‘राजाको छोरा’को बिहेमा गाउँपालिकाले दियो बिदा लोमन्थाङ

काठमाडौँ- मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते राजाको छोराको विवाह परेको भन्दै सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोराको विवाहको अवसरमा गाउँपालिकाले बिदा दिएको हो।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष न्हर्वु गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहेको दिन गाउँपालिकाको कार्यालय, गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँका अभिभावकको घरमा पूण्यको काम हुन लागेकोले बिदा दिइएको हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘जनताको मागअनुसार बिदा दिएको हो। हाम्रो यहाँ सबैले मान्ने, सबैभन्दा ठूलो मान्छेको घरमा पूण्यको काम हुने र जनता सबै त्यतै जाने भएकोले गाउँपालिकामा त्यो दिन बिदा दिइयो।’

उनले उक्त दिन सबै गाउँले भोज खान राजाको घर जाने र गाउँपालिकामा सेवाग्राही कोही नहुने पनि बताए। ‍’सबै जना उतै भोज खान जाने भयो गाउँपालिकाको काम नहुने भयो,’ उनले भने।

प्रकाशित: १७ असार २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =