बाबुरामको स्पष्टीकरण : ललिता निवास प्रकरणमा मेरो र म निकट कसैको स्वार्थ जोडिएको छैन

हिमाल प्रेस १७ असार २०८० १२:३३
110
SHARES
बाबुरामको स्पष्टीकरण : ललिता निवास प्रकरणमा मेरो र म निकट कसैको स्वार्थ जोडिएको छैन

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको जग्गा निजीकरण गर्ने काममा आफू र आफूनिकट कसैको पनि स्वार्थ नजोडिएको दाबी गरेका छन्।

भट्टराई प्रधानमन्त्री हुँदा ललिता निवासको केही जग्गा निजीकरण भएपछि उनको नाम जोडिएको थियो। ‘कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन’ उनले भनेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले निजी लाभको लागि राज्यको सम्पत्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकर रुपले झांगिएको समयमा ललितानिवासलगायत सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न पनि माग गरेका छन्।

यस्तो छ भट्टराईको भनाइ 

ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ।

मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन! म प का निर्णयहरू एकाधबाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मपको सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाॅचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत निर्णय गर्छ।

ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाॅचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।

तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ळगाएको पनि छैन!

देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।

बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!

प्रकाशित: १७ असार २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =