अब स्काइवाकबाट नियाल्नुस् काठमाडौँ

हिमाल प्रेस १५ असार २०८० १२:२३
26
SHARES
अब स्काइवाकबाट नियाल्नुस् काठमाडौँ

काठमाडौँ– अग्ला टावरबाट सहर नियाल्ने अवसर नेपालमै पनि प्राप्त हुने भएको छ। सहरका गगनचुम्बी भवनभन्दा माथि स्काइवाक गर्दै सहरको ३ सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ।

काठमाडौँ कमलादीमा २ वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको शुक्रबार (आज) सफ्ट ओपनिङ हुँदैछ। अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन्।

कुल ७८ दशमलव ५ मिटर अग्लो यस टावरमा २ अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिए। ‘टावरमाथि सिसामा हिँड्दा आकासमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो,’ उनले भने।

कमलादीस्थित गणेश मन्दिरछेउको यस टावरबाट उपत्यकाको ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ। टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औं तलामा निर्मित एम्पिथिएटर रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ।

टावरको २१औं तलामा उभिएर छेवैको १ सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको एरियल भ्यू हेर्दा निकै रोमाञ्चक लाग्छ। त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ।

टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ। साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ।

हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए। टावरदेखि १८औं तलासम्म जानका लागि २वटा लिफ्टको व्यवस्था गरिएको छ।

जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ। २वटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ।

सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा ५ सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेज सिंहले जानकारी दिए। उनका अनुसार टावरका ३ तलाका रेष्टुराँमा एकैपटक १ हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ।

स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ। त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा २ जनाभन्दा बढी जान मिल्दैन।

कुल १३ रोपनी २ आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन्। कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई ५ तहमा राखिएको छ।

सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि १ दशमलव ५ एमएम, १० एमएम, १ दशमलव ५ एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ।

स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति १ हजार तोकेको छ। ३ फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ। कम्पनीले हाललाई बिहान ८ देखि राति ८ बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ।

कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रोल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेज सिंह छन्। कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ।

१ सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म आइकन बनेको छ। पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि ५ करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्।

फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन्।

फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन्।

ती संरचनामार्फत ती देशले विदेशी पर्यटक भित्र्याएका छन् र विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन्। नेपालबाट पनि बर्सेनि ठूलो संख्यामा पर्यटक आइफल टावर र बुर्ज खलिफालगायतका संरचना हेर्न जाने गरेका छन्। अब भने यस्ता टावर नेपालमै बन्न थालेका छन्।

प्रकाशित: १५ असार २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =