अन्तरिम संविधानमा सुटुक्क धर्मनिरपेक्षता घुसाइयो : पूर्वउपराष्ट्रपति झा

हिमाल प्रेस १० असार २०८० १९:५३
8
SHARES
अन्तरिम संविधानमा सुटुक्क धर्मनिरपेक्षता घुसाइयो : पूर्वउपराष्ट्रपति झा

काठमाडौँ- पूर्वउपराष्ट्रपति परमानन्द झाले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्मनिरपेक्षता घुसाइएको बताएका छन्। बत्तीसपुतलीमा आइतबार भएको राष्ट्रिय एकता अभियानको अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले आफू उपराष्ट्रपति हुँदा पत्तो नपाएको बताएका हुन्।

मुलुकमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेका एजेन्डा सबै नेपालीको हृदयमा छुने खालको भएको उनको भनाइ छ।

अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताएका छन्। उनले नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसको जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताए।

‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उनले भने, ‘नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो।’

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले मुलुक बन्नु अघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताए। तर आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै जाँदा दुःख पाउने अवस्थामा नेपाल र नेपाली रहेको उनको भनाइ छ।

लोसपा नेता तथा पूर्वमन्त्री अनिल झाले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकामा शुभकामना दिए। ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो। वीरगञ्जमा नेपाल गेट बनाउँदा एकजना शंकराचार्यले दिएको मन्तव्यपछि सबैले त्यसलाई आ-आफ्नै प्रकारले परिभाषित गरे। त्यही बिन्दुबाट यो देशको हिन्दूत्वलाई राजसंस्थासँग जोडियो। जब राजसंस्था गयो हिन्दूत्व पनि गयो,’ झाले भने, ‘ती दुवैलाई घाँटी नजोडिदिएको भए गणतन्त्र स्थापनापछि हिन्दूत्व नजान सक्थ्यो।’
कार्यक्रमलाई किरात धर्मगुरु डा। चन्द्रकुमार शेर्माले आफ्नो अवधारणालाई अक्षरशः पालना गर्न अभियान र उसका अध्यक्ष विनय यादवसँग आग्रह गरे।

यस्तै संविधानसभाका सदस्य तथा अभियानका वरिष्ठ नेता बीपी यादवले संघीय हिन्दू गणतन्त्रको अवधारणामा बहस छेडिनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =