पूर्वप्रधानमन्त्री माधव नेपाललाई खुलापत्र : सक्नुहुन्छ जनमत संग्रह गर्न?

कमल थापा २ कार्तिक २०८० १३:०४
8
SHARES
पूर्वप्रधानमन्त्री माधव नेपाललाई खुलापत्र : सक्नुहुन्छ जनमत संग्रह गर्न?

प्रिय माधव जी, राजालाई चुनाव लड्न आऊ भन्नुभएको समाचार सुने। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनुभएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्वप्रधानमन्त्रीसमेत भइसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उदेक लागेको छ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुंगिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ वैशाख ११ गते राति भएको घोषणाको मस्यौदाकारमध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ।

ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्डलगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। सायद तपाईंको पनि नाम मुछिएको छ।

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएको छ।

देशभित्र सामान्य जागिर नपाएर लाखौँ युवा बिदेसिन बाध्य भएका छन्। धर्म परिवर्तनको डढेलोले देश आक्रान्त भएको छ। यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन्। नैतिक शक्ति बोकेको साझा अभिभावकको रूपमा राजसंस्था खोजेका छन्। त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ।

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला। तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भएजस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ।

यदि तपाईलाई संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न। हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपालमध्ये के राख्ने भन्ने बारे जनमतसंग्रह गरौँ। सधैँका लागि यो विवादको छिनोफानो गरौँ।

वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ जनमत संग्रह गर्न? यो राजावादीका तर्फबाट तपाईँलाई चुनौती भयो माधवजी।

प्रकाशित: २ कार्तिक २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =