बजेट नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव

हिमाल प्रेस ७ असार २०८० १५:२६
10
SHARES
बजेट नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए।

बिहीबार पार्टी केन्द्रीय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसद्‌बाट पास हुने बताए। यादवले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताए। बजेट सच्याएर अघि बढ्ने सहमति भएको उनले जानकारी दिए।

उनले भने, ‘अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरीकन यो बजेट ल्याइएको छ। बजेटले पूरै मधेस लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ। त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौं। नसच्याइ बजेट पास हुन कठिन छ। त्यसकारण सच्याउनु पर्छ। हाम्रो पार्टी यो बजेटमा न्यायोचित वितरण भएन, देशमा चालू रहेका योजनालाईसमेत अवरोध हुनेगरी जुन ल्याइएको छ। यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ। बजेट अब सच्चिएर अघि बढ्छ।’

मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन्। उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको दाबी गरे।

उनले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए। समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरु आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको उनको भनाइ छ।

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए। उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट बञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताए।

प्रकाशित: ७ असार २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =