डढेलोले बैतडीमा ३ सय हेक्टर वन क्षेत्र सखाप

हिमाल प्रेस ४ असार २०८० २०:४९
2
SHARE
डढेलोले बैतडीमा ३ सय हेक्टर वन क्षेत्र सखाप फाइल तस्बिर।

बैतडी- डढेलोका कारण यो वर्ष बैतडीमा ३ सय हेक्टर वन क्षेत्र सखाप भएको छ। यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण ३ सय हेक्टर वन क्षेत्र सखाप भएको हो।

सामुदायिक वनमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए।

मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ। स्थानीय उपभोक्ताको लापरबाहीकै कारण बढीजसो आगलागीका घटना हुने गरेका उनको भनाइ छ। ‘वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्,’ उनले भने, ‘यसले लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तु मर्नेसमेत गरेका छन्।’

जिल्लाको सिगास गाउँपालिका क्षेत्रका सामुदायिक वनमा बढी डढेलो लागेको छ। सिगासका ८ वटा सामुदायिक वनको २ सय ९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। सिगासको घट्टे सामुदायिक वन, सिगास भूमिराज सामुदायिक वन, सिगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिगास साँगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो।

पाटन नगरपालिकाअन्तर्गत उदयदेव, दहवयाला, ठूलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २.५, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन-तीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। रासस

प्रकाशित: ४ असार २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =