तीन सय किमी सडक कालोपत्रे गर्ने गण्डकी सरकारको लक्ष्य

हिमाल प्रेस ४ असार २०८० ८:४५
4
SHARES
तीन सय किमी सडक कालोपत्रे गर्ने गण्डकी सरकारको लक्ष्य मुख्यमन्त्री कार्यालय गण्डकी
पोखरा– गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ।
गण्डकी सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, १ निर्वाचन क्षेत्र-एक कृषि सडक, रणनीतिक महत्त्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ।
सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीत आलेको भनाइ छ। सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुंगे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ।
बूढीगण्डकी करिडोर, मर्स्याङदी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेको भनाइ छ।
प्रदेशको प्राथमिकतामा रहेका उत्तर-दक्षित द्रुतमार्गअन्तर्गतको भिमाद-डेढगाउँ-झ्यालबास-चोरमारा-दुम्कस्वास-त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उनको भनाइ छ। प्रदेश गौरवको आयोजनाको रूपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्त्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ।
यसको कार्यान्वयनका लागि १९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले  विश्वास लिएको छ।
प्रकाशित: ४ असार २०८० ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =