सावित्राको युरोपेली फुटबल यात्रा : सम्भव भयो कसरी?

प्रविण बिक्रम कटवाल १ असार २०८० २१:४०
574
SHARES
सावित्राको युरोपेली फुटबल यात्रा : सम्भव भयो कसरी?

काठमाडौँ- नेपाली खेलाडी युरोपेली लिगमा। सुन्दा अचम्म लागे पनि यो यथार्थ हो। यस्तो अचम्मलाग्दो सफलता सावित्रा भण्डारीले हात पारेकी हुन्। उनले गत बुधबार मात्र इजरायली क्लब हापोइल रानानासँग सम्झौता गरिन्। सम्झौता हालका लागि एक सिजनको हो।

भूगोलका हिसाबले इजरायल एसियाली देश हो। तर इजरायलले सदस्यता युरोपेली फुटबल महासंघ (यूईएफए)को लिएको छ। फलतः इजरायली महिला लिग च्याम्पियनले च्याम्पियन्स लिग खेल्न पाउँछ। भलै यसका लागि ‘प्लेअफ’ चरण भने पार गर्नुपर्छ। तर जे भए पनि इजरायली लिग युरोपेली क्लब फुटबलको हिस्सा हो। र, त्यही युरोपेली क्लब फुटबलमा अब नेपाल पनि छिरेको छ, सावित्रामार्फत।

अब प्रश्न उठ्छ, यो सबै सम्भव कसरी भयो? प्रश्न यो पनि हो, एक महिनाअघि दक्षिण एसियाली क्लब फुटबलमा व्यस्त रहेकी सावित्राले गर्वलाग्दो फड्को कसरी मारिन्? हुन त आधुनिक फुटबलमा एउटा खेलाडीको करियर परिवर्तन हुन धेरै समय लाग्दैन। तर बाटो त चहियो नि। यो बाटो निर्माण गरिदिएका हुन्, भिन्सेन्जो एल्बर्टो एनिसले। हो, तिनै एनिस जो हाल नेपालको पुरूष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हुन्।

सावित्राको यो नयाँ यात्रामा एनिस कसरी जोडिए? यो कथा पनि कम रोचक छैन। इटालीका एनिस सन् २०१० देखि प्रशिक्षण करियरमा छन्। युरोपका कयौँ क्लब र राष्ट्रिय टिमसँग काम गरेकाले एनिसको फुटबल एजेन्टहरूसँग सम्पर्क नहुने कुरै भएन। नौ महिनाअघि मात्र उनी लन्डन पुगेका थिए। जहाँ उनको भेट भयो, लिन्डी ग्वेन्यासँग। लिन्डी सिसु स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीकी संस्थापक हुन्।

सजिलोगरी भन्दा सिसु फुटबलरहरूलाई क्लब स्थान्तरणका लागि मद्दत गर्ने कम्पनी हो। चलनचल्तीको भाषामा भन्दा, फुटबल एजेन्ट। एनिस र लिन्डी पुरानै साथी हुन्। जब एनिस नेपाल आए, तब पनि उनी लिन्डीको सम्पर्कमै थिए। मार्चमा नेपाली टिमको मुख्य प्रशिक्षक बनेका एसिनसले यहाँ तुरून्तै एक प्रतिभा पहिचान गरिहाले। ती प्रतिभा थिइन्, सावित्रा।

‘नेपाली महिला फुटबलमा एक गजबकी प्रतिभा छिन्। उनलाई तिमीहरू एकपटक हेर भनेर एनिसले मलाई खबर पठाए,’ लिन्डी सम्झिन्छिन्। एनिसले सिफारिस त गरे, तर कसैको सिफारिसले मात्र कोही प्रतिभामाथि कुनै स्काउटले किन पूरै भरोसा गर्छ र?

‘एनिस राम्रो प्रशिक्षक हुन्। यसमा शंका छैन। उनले प्रतिभा पहिचान गर्न नसक्ने पनि कुरै भएन। तर हामीले पनि आफ्नो गृहकार्य त गर्नैपर्‍यो नि,’ हिमालप्रेससँगको कुराकानीमा लिन्डीले भनिन्।

त्यसपछि लिन्डीको खास काम सुरू भयो। त्यो भनेको, ‘रिसर्च’। सावित्राले खेलेका खेलको टन्नै भिडियो हेरिन्, लिन्डीले। भारतमा महिला लिग चल्दै थियो, त्यता पनि नजर नपुर्‍याउने कुरै भएन। आखिरमा च्याम्पियन बनेको गोकुलम केरेलाका लागि लगातार गोल गरिरहेकी सावित्रामा केही त छ, लिन्डीको निस्कर्ष थियो।

लिन्डी दुई कुरामा स्पष्ट थिइन्। पहिलो, सावित्रा एकैपटक युरोपका ठूला लिगमा पुग्न सक्दिनन्। दोस्रो, त्यहाँ पुग्ने प्रयास गर्नुअघि बीचमा मध्यमस्तरको लिग त खेल्नैपर्छ। फेरि मध्यमस्तरकै लिग खेल्न पनि सावित्रा तयार हुनुपर्‍यो, उनमा जोस हुनुपर्‍यो।

‘भारतीय लिगलाई बलियो लिग मान्न सकिँदैन। यो लिग भर्खर हुर्कदैछ। तर कमजोर लिगमै पनि १० खेलमा २९ गर्नु भनेको त सामान्य कुरा होइन। आखिर उनले किन यत्तिका गोल गरिन्, हामीले कारण खोज्ने प्रयास गर्‍यौँ,’ लिन्डीले भनिन्।

कारण निकालियो, तीव्रता। अनि पाएका मौकामा गोल गरिहाल्ने बानी। मतलब ‘स्पिड’ र ‘फिनिसिङ’। ‘लिग जति कमजोर होस्, यी दुई गुणयुक्त खेलाडी सबैको नजरमा परिहाल्छन्। सावित्रा पनि हाम्रो नजरमा परिन्। उनको यी दुई गुणले नै हामीलाई विश्वास दिलाए, सावित्रा युरोपमा खेल्न सक्षम छिन् भनेर,’ सावित्राको स्थान्तरणका कारण उत्साहित बनेकी लिन्डीको भनाइ थियो।

सावित्राको प्रतिभासँग विश्वस्त भएपछि पालो आयो उनलाई प्रस्ताव राख्ने। सुरूमा सावित्रालाई लिन्डीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सम्पर्क गरिन्। त्यसपछि ह्वाट्सएपमा कुरा भयो। सम्भावित स्थान्तरणको औपचारिक प्रक्रिया थाल्न लिन्डीले सावित्राका म्यानेजर सुवास हुमागाईं (जाे परिचित खेल पत्रकार पनि हुन्) बाट सहमति लिइन्। अब मात्र लिन्डीले सावित्राको स्थान्तरणको ‘म्यान्डेट’ पाइन्।

लिन्डी दुई कुरामा स्पष्ट थिइन्। पहिलो, सावित्रा एकैपटक युरोपका ठूला लिगमा पुग्न सक्दिनन्। दोस्रो, त्यहाँ पुग्ने प्रयास गर्नुअघि बीचमा मध्यमस्तरको लिग त खेल्नैपर्छ। फेरि मध्यमस्तरकै लिग खेल्न पनि सावित्रा तयार हुनुपर्‍यो, उनमा जोस हुनुपर्‍यो। लिन्डी यी पक्षबारे पनि चनाखाे थिइन्।

‘केही समयअघि मैले अफ्रिकी खेलाडीलाई युरोपेली लिगमा लाने प्रयास गरेको थिए। तर प्रयास सफल भएन। किनभने ती खेलाडी मानसिक रूपमा बलियो थिइनन्। तर सावित्रामा भने उत्साह र हिम्मत पाए। त्यसपछि त मलाई सजिलो भइहाल्यो नि,’ लिन्डीले भनिन्।

अब सावित्राको ‘प्रोफाइल’ बनाइयो। ‘प्रोफाइल’ लिन्डीको सम्पर्कमा रहेका क्लबहरूतिर पठाइयो। धेरै क्लबले स्थान्तरणका लागि इच्छा देखाए। तर अन्ततः इजरायलका दुई क्लब अरूभन्दा बढी इच्छुक देखिए। स्थान्तरणका लागि सहमति दुईमध्ये रानानासँग भयो।

लिन्डी विश्वस्त छिन्, यो बस् सुरूवात हो। सावित्रा इजरायली लिगको अनुभवले निखारिने र युरोपका ठूला लिगका लागि तयार हुने उनको अपेक्षा छ। उनका अनुसार यही अपेक्षाका कारण रानानासँग सम्झौता एक वर्षका लागि मात्र गरिएको हो। ‘इजरायली लिगमा सावित्रा प्रभावकारी हुने विश्वास छ। हामीले आशा गरे अनुसार उनले त्यहाँ गोल गरिन् भने, उनको यात्रा युरोपका ठूला लिगतिर मोडिनेछ। उनले ठूला लिग खेल्न नसक्ने कुनै कारण छैन। उनीसँग असीमित प्रतिभा छ,’ लिन्डीले भनिन्।

सावित्रा युरोपेली क्लब फुटबलसँग जोडिएपछि नेपाल लोभिएको छ। लोभ हो, अरू खेलाडी पनि त्यता पुगुन् भन्ने। तर नेपाली फुटबलबाट अरू सावित्रा भेटिने धेरै विश्वास लिन्डीलाई छैन। ‘नेपाल वा दक्षिण एसियाले सावित्रा जस्ता प्रतिभा जन्माउन सक्छ। तर यस्ता प्रतिभा एक वा दुई मात्र जन्मिन्छन्। त्यही एक वा दुईमध्येकी हुन् सावित्रा। अरू सावित्रा भेटिन मुस्किल छ,’ लिन्डीको यथार्थपरक जवाफ थियो।

यद्यपि लिन्डी वा उनको कम्पनी नेपाल जस्ता देशमा सावित्रा जस्ता प्रतिभा खोज्न भने प्रतिबद्ध छ। ‘फुटबल जहाँ जहाँ खेलिन्छ, त्यहाँ त्यहाँ प्रतिभा हुन्छन् नै। संख्या कम होला, फरक यति हो। नेपाल र दक्षिण एसियाका अरू देशमा युरोपेली स्काउटहरूको ध्यान पुगेको छैन। यो क्षेत्रमा अरूको ध्यान नहुनु हाम्रा लागि त अवसर हो। हामी यो अवसरलाई उपयोग गर्न चाहन्छौँ,’ अन्त्यमा लिन्डीले आशा देखाइन्।

प्रकाशित: १ असार २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =