बसपार्क बाहिरका टिकट काउन्टर हटाउन सुरु

हिमाल प्रेस १ असार २०८० १२:३३
6
SHARES
बसपार्क बाहिरका टिकट काउन्टर हटाउन सुरु

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने सार्वजनिक सवारी साधन आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्।

काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन्।

काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्।

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित टिकट काउन्टर हटाएको छ। कामनपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिए।

उनका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिक रूपमा उपत्यका बाहिर सञ्चालित करिब २ हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन्।

‘माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मलपछाडि पार्किङ र काउन्टरको व्यवस्था गरिएको छ,’ प्रहरी प्रमुख पाण्डेले भने।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणलाई तीव्रता दिएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउन्टर निर्माणको काम भइरहेको बताए। कामनपाको निर्णयले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उनको भनाइ छ।

माइक्रोबस तथा जीप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताए। ‘कामनपाले आजदेखि लागू हुने गरी लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनमा लागेका छौं,’ उनले भने।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्यांजा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। त्यस्तै, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौंडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन्।

नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि पिक एन्ड ड्रपको व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गरे।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधन  व्यवस्थित गर्दै पार्किङका लागि कामनपाले ०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। १ सय ६१ रोपनी क्षेत्रफलमा रहेको सो बसपार्कमा ८ सय बढी सार्वजनिक सवारी साधन अट्ने क्षमता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =