बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवमा अर्याल

हिमाल प्रेस ३२ जेठ २०८० ११:००
6
SHARES
बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवमा अर्याल राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका शंकरदास वैरागी पद तथा गाोपनीयताको शपथ लिँदै।

काठमाडौँ- सरकारले मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ। यस्तै मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैरागीलाई मन्त्रीसरहको सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको एक मन्त्रीले बताए। यस्तै अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको उनले जानकारी दिए।

मुख्य सचिव बैरागी तीन महिनापछि अवकाश पाउने तयारीमा थिए। उनलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको हो। मुख्य सचिव बन्नुअघि बैरागी परराष्ट्र मन्त्रालयका सचिव थिए। त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि थिए।

बैरागीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्ति नेपालमा पहिलोपटक गरिएको हो।

अर्याललाई मुख्य सचिव बनाउनका लागि नै बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको ती मन्त्रीको भनाइ छ।

उनले भने, ‘शंकर बैरागीभन्दा बैकुण्ठ शक्तिशाली रहेछन् भन्ने पुष्टि भएको छ।’ यद्यपि राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएका बैरागी त्यति सन्तुष्ट नरहेको उनी निकट स्रोतले जनायो।

मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव अर्याल असार ३ गते अवकाश हुने तयारीमा थिए। अवकाशमा जान लागेका अर्याललाई मुख्य सचिव बनाइएपछि अब अन्य प्रतिस्पर्धीको तत्काल मुख्य सचिव बन्ने बाटो बन्द भएको छ।

अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएपछि कर्मचारी वृत्तमा नराम्रो सन्देश गएको छ। यसअघि पनि मुख्य सचिव लोकदर्शन रेग्मीलाई विदेश पठाएर बैरागीलाई मुख्य सचिव बनाइएको थियो।

त्यति बेला पनि मुख्य सचिव बन्ने लाइनमा रहेका सचिवहरू घर फर्किन बाध्य भएका थिए।

प्रकाशित: ३२ जेठ २०८० ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =