तनहुँमा गाईवस्तुमा लम्पी स्किनको प्रकोप, खोप लगाउन सुरु

हिमाल प्रेस २९ जेठ २०८० ८:३५
10
SHARES
तनहुँमा गाईवस्तुमा लम्पी स्किनको प्रकोप, खोप लगाउन सुरु

तनहुँ– तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ। म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो।

पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहको भनाइ छ। उनका अनुसार पहिलो चरणमा दुध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ।

‘व्यावसायिक  रूपमा गाई भैंसी पालन गरिएका र दुध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौं। क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ,’ उनले भने।

प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका २ हजार गाई भैंसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ।

गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको उनले जनाए। ‘पहिलो चरणमा २ हजार खोपको मात्रा आएको छ। आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ,’ उनले भने।

उनका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रूपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ।

‘यो खोप संक्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो,’ उनले भने।

गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्यांक भने नरहेको उनको भनाइ छ। सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्यांक आफूहरूसँग नरहेको डा. शाहको भनाइ छ। उनका अनुसार लम्पी स्किनबाट संक्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ।

खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ।

यस्तै पशु सेवा शाखाबाट डा. शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ।

आँबुखैरेनी गाउँपालिकाले लम्पी रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ। पछिल्लो समय गाउँपालिकाका सबै वडामा उक्त रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो। गाई भैंसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाउनले  गाउँपालिका पशु सेवा शाखा प्रमुख डा. सन्तोष देवकोटाले बताए।

खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्र विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।

जिल्लाका सबै पालिकामा लम्पी स्किनको संक्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० भन्दा बढीमा यो संक्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन्। लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ।

जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको संक्रमण देखिएको छ। गर्मी मौसममा टोक्ने झिंगा, लामखुट्टे, किर्नाजस्ता किराको संख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा. शाहको भनाइ छ।

उनका अनुसार यो रोग देखिएपछि दुध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ। -रासस

प्रकाशित: २९ जेठ २०८० ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =