‘यसपालि साफ च्याम्पियनसिप जित्ने दाबी गर्न सकिँदैन’

हिमाल प्रेस २८ जेठ २०८० २१:४१
56
SHARES
‘यसपालि साफ च्याम्पियनसिप जित्ने दाबी गर्न सकिँदैन’

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग सकिएको एक दिनपछि नेपाली राष्ट्रिय फुटबल टिम फिलिपिन्सको यात्रामा निस्कँदैछ। फिलिपिन्स यात्राको उद्देश्य हो, मैत्रीपूर्ण खेल। मनिलामा आउँदो बिहीबार नेपाल र घरेलु टिम फिलिपिन्स भिड्दैछन्। साफ च्याम्पियनसिप २०२३ अघि नेपालले खेल्ने मैत्रीपूर्ण खेल यही मात्र हो।

यसपालिको साफ च्याम्पियनसिप भारतको बेंगलोरमा हुँदैछ। जुन २१ बाट सुरु हुने साफ च्याम्पियनसिप खेल्न नेपाल फिलिपिन्सबाट सिधै भारत पुग्नेछ।

ए डिभिजन लिग शनिबार सकिएको थियो। नेपाली टिमले औपचारिक रुपमा आइतबार पहिलो पटक अभ्यास गर्‍यो। दशरथ रंगशालामा सोमबार बिहान पनि हुनेछ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घोषणा गरेको २३ सदस्यीय टिमले देश छाड्नुअघि गर्ने यो दोस्रो तथा अन्तिम अभ्यास हुनेछ। किनभने नेपाली टिम सोमबार राति ८ः३० बजे फिलिपिन्स प्रस्थान गर्दैछ।

साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल जुन २१ मा खेल्नेछ। समूह ‘ए’मा रहेको नेपालको पहिलो विपक्षी कुवेत हो। त्यसपछि जुन २४ मा नेपाल घरेलु टिम भारतसँग भिड्नेछ। समूह चरणको अन्तिम खेलमा भने नेपालको भेट पाकिस्तानसँग हुनेछ। समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। कुवेत र लेबनान आगन्तुक टिम हुन्।

फिलिपिन्सबाट भारत गएपछि नेपालले त्यहाँ जम्मा तीन दिन अभ्यास गर्नेछ। सरसर्ती भन्दा साफ च्याम्पियनसिपअघि नेपालले पाउने तयारी समय १० दिनको हो।

तयारी अवधि छोटो, त्यसमाथि लिगका कारण थकित खेलाडी। अनि थपिएका बलिया आगन्तुक टिम। यी सबै पक्षलाई विचार गर्ने हो भने, नेपालका लागि यसपल्टको साफ च्याम्पियनसिप अहिलेसम्मकै कठिनमध्येको एक हुनसक्छ।

तर परिस्थिति जस्तो भए पनि टिमको लक्ष्य त हुन्छ नै। एनिसलाई पनि आइतबार टिमको लक्ष्यबारे सोधियो। ‘म कहिल्यै, कुनै प्रतियोगिता जित्ने दाबी गर्दिनँ। थ्री–नेसन्स कप हुँदा पनि उपाधि जित्छौँ भनेको थिइनँ। म सधैँ सानो अपेक्षाका साथ प्रतियोगिताको सुरुवात गर्न चाहने प्रशिक्षक हो। अपेक्षा विस्तारै बढाउँदै जानुपर्छ। फेरि अहिलेबाटै साफ च्याम्पियनसिपमा कस्तो नतिजा आउँला भनेर सोच्न थाल्यो भने मानसिक तनाव मात्र हुन्छ,’ एनिसले भने।

मार्च, २०२३ मा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका एनिसले हाल आफू साफ च्याम्पियनसिपभन्दा फिलिपिन्सको खेलमा केन्द्रित रहेको पनि बताए। ‘हो, हामी देशबाहिर असाध्यै महत्त्वपूर्ण प्रतियोतिा खेल्न गइरहेका छौँ। तर अहिलेलाई म फिलिपिन्ससँगको खेलमा केन्द्रित हुन चाहन्छु। यो खेलमा खेलाडीहरुले कस्तो प्रदर्शन गर्छन्, सुरुमा त्यो जान्नुछ,’ एनिसले थपे।

प्रत्येक साता जस्तो खेलाडीहरु विदेश गइरहेकाले नेपाली टिम सहज अवस्थामा नरहेको एनिसको भनाइ थियो। ‘थ्री-नेसन्स खेलेकै खेलाडी पनि विदेशीए। अहिले टिममा भएका धेरै खेलाडी कम अनुभवी छन्। कतिपयले डेब्यु गर्नै बाँकी छ। आशा छ यी खेलाडीहरुले फिलिपिन्ससँग राम्रो प्रदर्शन गर्नेछन्,’ एनिसको भनाइ थियो।

एनिसले नेपाली टिममा परेका खेलाडीले राष्ट्रिय टिममा पर्नुको महत्त्व बुझ्नपर्ने पनि बताए। आफ्ना लागि यसपालिको साफ च्याम्पियनसिप पहिलो भए पनि टिमका कतिपय खेलाडी यो प्रतियोगितामा अनुभवी भएको र उनीहरुबाट आफूलाई आत्मविश्वास मिल्ने एनिसले बताए। ‘कप्तान किरणसँगै पाँच पटक साफ च्याम्पियनसिप खेलेको अनुभव छ। उनी जस्ता अनुभवी खेलाडीले मलाई आत्मविश्वास दिनसक्छन्,’ एनिसले भने।

कप्तान किरण कुमार लिम्बुले यसपालि साफ च्याम्पियनसिप जित्ने दाबी गर्न नसक्ने बताए। ‘दुई आगन्तुक टिम थपिँदा साफ च्याम्पियनसिपको स्तर बढेको छ। यसकारण चुनौती झन् बढेको छ। फेरि हामीसँग धेरैजसो नयाँ खेलाडी छन्,’ किरणले भने, ‘हामी सबैलाई थाहा छ नेपाली फुटबल कस्तो संकटबाट गुज्रिरहेको छ भनेर। अनुभवी खेलाडी विदेशीएका छन्। त्यसमाथि तयारी समय थोरै पाइएको छ। कठिन अवस्था छ। यस्तोमा हामी उपाधि जित्नेछौँ भनेर दाबी गर्न सक्दिनँ।’

साफ च्याम्पियनसिपका लागि घोषित नेपाली टिमः

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ लेफ्ट, देवेन्द्र तामाङ लेफ्ट, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा, पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

प्रकाशित: २८ जेठ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast