झापाका २० आयोजनाका लागि संघीय सरकारले छुट्यायो २१ करोड

हिमाल प्रेस २८ जेठ २०८० १३:५६
4
SHARES
झापाका २० आयोजनाका लागि संघीय सरकारले छुट्यायो २१ करोड फाइल तस्बिर।

झापा– झापामा २० वटा आयोजना सञ्चालन गर्न संघीय सरकारले २१ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष ०८०/८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सरकारले सो रकम विनियोजन गरेको हो।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए। समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो।

योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि ७० लाख विनियोजन गरिएको छ। विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनको भनाइ छ।

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सोही गाउँपालिका-७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्र चम्लगाईंले बताए।

सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रूपमा रहेको छ।

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि २ करोड बजेट विनियोजन भएको छ। ३ वर्षे आयोजनाका रूपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो। यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि २ करोड बजेट विनियोजन भएको छ।

बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि ९० लाख बजेट विनियोजन भएको छ। ३ वर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने जनाइएको छ। सोही गाउँपालिको विजयपुरस्थित आदर्श मा.वि.कोे भवन निर्माणका लागि ७० लाख विनियोजन भएको छ।

दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि २ करोड विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि १ करोड ५० लाख विनियोजन भएको छ।

गौरादाहनगरपालिका-५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु) खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्याइएको हो। गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि ५० लाख विनियोजन भएको छ।

खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो। यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई ७० लाख विनियोजन भएको छ। विनियोजित रकम ल्यान्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो।

हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि १ करोड १५ लाख बजेट विनियोजन भएको छ। विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्र लिंदेनको भनाइ छ।

झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न १ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहको भनाइ छ। विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्तहुने अध्यक्ष साहको भनाइ छ।

कचनकबल गाउँपालिकामा खानेपानीका लागि १ करोड १५ लाख विनियोजन भएको छ। गाउँपालिकाको वडा ३, ६ र ७ मा खानेपानीको पाइपलाइन बिस्तारकालागि सो रकमविनियोजन भएको हो।

कमल गाउँ पालिकामा महेन्द्ररत्न माविको भवननिर्माणका लागि १ करोड बजेट विनियोजन भएको छ। कमलगाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि ८० लाख विनियोजन भएको छ।

कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि २ करोड विनियोजन भएको छ। यसबाट जामुनबारी चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको भनाइ छ।

मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि १ करोड विनियोजन भएको छ। निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो। त्यस्तै आदर्श माविको विद्याल यभवन निर्माणका लागि १ करोड १५ लाख विनियोजन भएको छ।

शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि १ करोड १५ लाख विनियोजन भएको छ।

प्रकाशित: २८ जेठ २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =