समानुपातिक प्रणाली व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : देउवा

हिमाल प्रेस २७ जेठ २०८० १६:५४
2
SHARE
समानुपातिक प्रणाली व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणाली व्यवस्थापनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रत्यक्ष निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्नुपर्ने बताए।

त्यसका लागि संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले समानुपातिक प्रणाली व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्ने बताए।

साथै उनले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिए।

कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता टिकाउन अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेकोे बताए। ‘जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ,’ उनले भने, ‘राष्ट्रपतिले यसलाई रोक्नु पथ्र्यो, दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालिरहेका छन्।’

नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति व्यक्त गरे। ‘अहिले निर्वाचन आयोगलाई हामीले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौँ,’ उनले भने, ‘तर सरकारले निर्वाचन आयोगलाई सीडीयोको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दैछ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन।’

लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी रहेको उनको भनाइ थियो।

प्रकाशित: २७ जेठ २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =